जनता बचाउन फिल्डमा प्रधानमन्त्री, पावरफुल निर्देशक घुमघाम गर्न काठमाडौं छाडेको छाडै

काठमाडौं । भदौ १० गते भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री कार्यालयले मातहतका कर्मचारीहरूलाई बिदामा नजान परिपत्र गरेको छ ।

बिशेषगरी स्वास्थ्य सेवाका कर्मचारीहरूले त कार्यालयमा तयारी अवस्थामा रहनुपर्ने हुन्छ । बाढीग्रस्त क्षेत्रमा हैजालगायतका महामारी फैलिन नदिनका लागि सधै तयारी अवस्थामा रहनुपर्ने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको ब्यवस्थापन महाशाखाका निर्देशक डा.वीरेन्द्र मण्डल भने बिराटनगरमा सरकारी गाडी लिएर घुमघाममा ब्यस्त छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावितहरूको खोजी, उद्धार र राहत लगायतका विषयमा पलपलको जानकारी लिएर कमाण्ड सम्हालेर बसेका छन् । शाहले बाढी प्रभावित क्षेत्रमा पुगेर खोजी, उद्धार र राहतको जानकारी लिएर आए । बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री शाहसहित पूरै राज्य खोजी, उद्धार, राहत र व्यवस्थापन लगायतका कार्यमा लागेका बेला डा.मण्डल भने निस्फिक्री घुमघाममा छन् । डा.मण्डलले प्रधानमन्त्री कार्यालयले बिदामा नबस्न भनेर दिएको निर्देशनलाई समेत अटेर गरी उल्लंघन गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा खैलाबैला भएको छ ।

स्वास्थ्य सामग्री, औषधि लगायतको ब्यवस्था गर्नुपर्ने ब्यवस्थापन महाशाखाका निर्देशक डा.मण्डल बाढी आएकै दिन भदौ १० मा हाजिर भएका थिए । भदौ १० मा हाजिर भएका डा.मण्डल ११ गते ११ बजे हाजिर भएर पुनः बिराटनगरतर्फ नै लागेका हुन् ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लामा हजारौं मानिस बेपत्ता भएको, सयौंको मृत्यु भएको बेला औषधिदेखि स्वास्थ्य सामग्रीको बन्दोबस्त गर्नुपर्नेमा डा.मण्डल भदौ ११ गते बिराटनगर गएका थिए ।

भदौ १२, १३ र १४ गते गते पनि सार्वजनिक बिदा भएकाले उनी ती दिन नै बिराटनगरतिरै घुमघाममै रमाए । भदौ १४ गते सोमबार फर्किएर २ दिन बसी पुनः बिहीबारदेखि उनी बीएबी ९२३७ नम्बरको सरकारी गाडी लिएर बिराटनगरतिरै घुमिरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको आरोप छ । बिदाका दिन सरकारी गाडी चलाउन नपाउने भए पनि डा. मण्डलले बिराटनगरमा दुरुपयोग गरिरहेका छन् ।

नेपाल प्रहरीमा कार्यरत एसपी दर्जाका डा.सरोज सिंहका साथी भएकाले डा.मण्डललाई समूह नमिले पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आकर्षक मानिने महाशाखा प्रमुखमा ल्याइएको थियो । डा.सरोज सिंह स्वास्थ्यमन्त्री निशा मेहताका श्रीमान हुन् ।

ब्यवस्थापन महाशाखा प्रमुख पब्लिक हेल्थ समूहको दरबन्दी हो । उनी फरेन्सिक समूहका चिकित्सक हुन् । पब्लिक हेल्थ समूहका केशव पण्डितलाई सरुवा गरी फरेन्सिक समूहका डा.मण्डललाई ल्याइएकोमा मन्त्रालयभित्रै बिरोध भइरहेको छ ।

मन्त्री मेहताका श्रीमान् डा.सरोज सिंहका साथी भएकाले डा.मण्डल महाशाखामा सरुवा भएर मुस्किलले ४ दिनमात्र हााजिर गरी अरु दिन बिराटनगरमै घुमिरहेका छन् ।

संवेदनशील जिम्मेवारी भुलेर प्रधानमन्त्री कार्यालयको निर्देशन नै अटेर गरी उनी घुमघाममा लागेका छन् । स्वास्थ्य सेवा बिभागका निमित्त महानिर्देशक डा.अनुज भट्चनसँग ‘ब्यवस्थापन महाशाखाका निर्देशक कता हुनुहुन्छ ? फोन लागेन भनेर सोध्दा उनले भने, ‘फोन किन लागेन, सायद घरायसी काममा हुनुहोला, केही जानकारी चाहिए उक्त महाशाखा अन्तर्गतकै दयाराज पन्तलाई सोध्नुहोला ।’

ब्यवस्थापन महाशाखाका प्रमुख डा.मण्डललाई बिदा उनै महानिर्देशकले दिएको बुझिएको छ ।

Published : Monday, 2026 September 7, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया