देउवा, खड्का, डा.कोइरालाले गुमाउन बाँकी केही छैन, पाउँदा सबै पाउँछन्, गगनको भिख लिदैनन्
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले पार्टी विभाजनको डिलमा रहेका बेला गगन थापा निकटका ‘साइबर सेना’हरूले शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शेखर कोइराला लगायतका नेताहरूविरुद्ध निच शब्दावली प्रयोग गरेर गालीगलौज गर्ने कार्यहरू गरिरहेका छन् ।
सामाजिक सञ्जालमा होस् वा सार्वजनिक कार्यक्रमहरूमा दिइने यस्ता निच गतिविधिले कांग्रेसको एकतामा भन्दा पनि विभाजनमा सहयोग मिल्छ । गगन निकटको एउटा समूह कांग्रेसलाई मिल्न दिने पक्षमा छैन । गगनको कार्यसमितिका गगनसहित १० जना नेताहरू बाहेक अरु सबै १५औँ महाधिवेशनमा पराजित हुने निश्चित छ । पराजित हुने सूचीमा विश्वप्रकाश शर्मासहितका सबै पदाधिकारीहरू छन् । पराजित हुने डरले पनि यो समूह कांग्रेसलाई मिल्न दिने पक्षमा छैन ।
कांग्रेस पार्टी विभाजन नहोस् भनेरै दबाबका लागि देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरेका छन् । समितिमार्फत् पार्टीमा बृहत एकताका लागि दबाब सिर्जना गरिरहेका छन् ।
तर, गगनका साइबर सेनाहरूले सामाजिकसञ्जालमा जथाभावी लेख्ने, बोल्ने, निच शब्दावली प्रयोग गरेर गालीगलौज गर्ने जस्ता कार्यहरू गर्दै आएका छन् । देउवा, खड्का र डा.कोइरालाबीच विभाजन भयो, खड्का र डा.कोइरालाले देउवाको साथ छोडेर गगनतिर आए भन्ने जस्तो भ्रमहरू फैलाइरहेका छन् । गगनका साइबर सेनाका कुरा सुनेर केही अनलाइन सञ्चारमाध्यमहरूले पनि देउवा समूह विभाजन भयो, खड्का र डा.कोइराला गगनतिर लागे भन्ने जस्ता समाचार लेखेका छन् । देउवा, खड्का, डा.कोइराला त्यति स्वार्थी र कमजोर पनि छैनन् । के गगनले उनीहरूलाई अहिलेसम्म व्यक्तिगत प्रलोभन नदिएका होलान् ? सम्पर्क व्यक्तिमार्फत् के के प्रस्ताव गरेका छन् ? कसैलाई थाहा नहोला त ? धेरै कुरा, धेरैलाई थाहा छ ।
गगनले दिएको भिख लिएर आत्मसम्मानमा ठेस पु¥याएर देउवा, खड्का र डा.कोइराला एक्लै जाँदा पनि जाँदैनन् । उनीहरू मिल्नै परे सबैको आत्मसम्मान हुने गरेर जानेछन् । होइन भने नयाँ दल गठन गरेर जाने सबैलाई स्वतन्त्रता छ । कानूनी लडाइँ पनि बाँकी नै छ ।
स्वदेश र विदेशीको चङ्गुलमा परेर गगनले भृकुटीमण्डपमा कांग्रेसलाई तहस–नहस, छिन्न–भिन्न बनाएपनि शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शेखर कोइरालासहितका नेताहरू नेपाली कांग्रेसप्रति माया राखेका छन् । चुनाव चिन्ह रुख र चार तारे झण्डाका लागि उनीहरू अपमान सहेर बसेका छन् । उनीहरू कहिले निर्वाचन आयोग जान्छन्, कहिले सर्वोच्च अदालत जान्छन्, कहिले पुनरावलोकनका लागि जान्छन् । यो गर्नु भनेको देउवा, खड्का र डा.कोइराला विभाजन भएको होइन । उनीहरू एक ठाउँमा छन् । पार्टीमा बृहत एकताका लागि प्रयास गरिरहेका छन् । देउवा, खड्का र डा.कोइरालालाई गुमाउनुपर्ने केही बाँकी छैन । जुनदिन गगनले तथाकथित विशेष महाधिवेशन गरेर कांग्रेसलाई हाइज्याक गरी आफूलाई सभापति घोषणा गरे त्यस दिनदेखि देउवा, खड्का, डा.कोइराला पक्षले सबै गुमाइसकेका छन् ।
नेपाली कांग्रेसको आधिकारिकताको विवादको मुद्दामा सर्वोच्च अदालतले देउवा पक्षलाई निस्सा दिएको छ । मुद्दा अदालतमा विचाराधीन रहेका बेला देउवा समूह मौन बसेको छ । न्यायलयले न्याय दिनेमा देउवा पक्ष आशावादी छ । देउवा पक्ष मौन बसेको विषयलाई लिएर गगन समूह र उनका साइबर सेनाले कमजोरीका रुपमा लिएका छन् । यो उनीहरूको भुल हो ।
गगन समूह र उनका साइबर सेनाले के बुझ्नुपर्छ भने देउवा समूहले सबै गुमाइसकेको छ । देउवा समूहलाई गमाउन बाँकी केही छैन । सर्वोच्च अदालतबाट आधिकारिकता पायो भने देउवा समूहले सबै पाउनेछ । नपाउँदा पनि देउवा समूहले गुमाउनु पर्ने कुनै कुरा छैन, सबै गुमिसकेको छ ।
गगन समूहले कांग्रेसको आधिकारिकताको मुद्दा अदालतमा बिचाराधीन रहेका बेला १५औँ महाधिवेशन असन्तुष्ट नेताहरूसँग सरसल्लाह नै नगरेर एकतर्फी रुपमा घोषणा गरेको छ । गगन समूहको महाधिवेशन पार्टी विभाजनको प्रमुख कारण बन्नेछ ।
त्यसपछि देउवा पक्षले बाध्य भएर १५औँ महाधिवेशन गर्नेछन् । दुई वटा महाधिवेशने हुनेवित्तिकै कांग्रेस विभाजन हुनेछ । यसको दोष सबै गगनले लिनुपर्ने नेताहरू बताइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया