मन्त्री पाण्डेयद्वारा पदीय मर्यादा विपरीत फेसबुकबाट आफ्नै पार्टीका अध्यक्षलाई निच शब्दमा गालीगलौज
काठमाडौं । पार्टीको अनुशासन कारबाहीपछि निष्कासनमा परेका लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री सन्तोष पाण्डेयले आफ्नो पदीय मर्यादाको समेत ख्याल नराखेर निच शब्दावलीसहित सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिएका छन् ।
जसपाले मन्त्री पाण्डेयलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । पार्टीको नीति र निर्देशन विपरीत पाण्डेयसहित ४ सांसदहरूले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई समर्थन जनाएका थिए ।
मन्त्री पाण्डेयले पदीय मर्यादा विपरीत जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा लेख्ने, गालीगलौज गर्ने, लुम्बिनी प्रदेशमा बहिरकार गर्ने धम्कीहरू दिएका छन् । मन्त्री पाण्डेयको सचिवालयको नाममा रहेको फेसबुक पेजबाट अध्यक्ष यादवविरुद्ध गालीगलौज गरिएको छ ।
मन्त्री पाण्डेयले लेखेका छन्, ‘उपेन्द्र यादवले आज पटक पटक सन्तोष पाण्डेयमाथि गरेको दमन एकदिन आरु वा हजुरमाथि पनि हुनसक्छ । म लडाइँ लडछु आउने पिंढीको लागि ।’
‘लुम्बिनी प्रदेशको राजनीति पूर्वेलीको हातमा नदेउ । अब सचेत हौँ । लुम्बिनी प्रदेशमा उपेन्द्र यादवलाई बहिष्कार गरौं ! उपेन्द्र यादवको साथ दिनेलाई समेत अब बहिस्कार गरौं,’ मन्त्री पाण्डेयले लेखेका छन् ।
‘दैलोबाट लखेटने शुरु गरौं । उपेन्द्र यादव तिम्रो अहंकार घमण्डलाई तोडेर अगाडि बढछु,’ मन्त्री पाण्डेयले लेखेका छन्, ‘तिमी दमनकारी त हो यो राष्ट्रलाई थाहा छ तर, अब तिम्रो पुच्छरहरूलाई पनि पहिचान गर्ने काम हुँदै छ । तिमीसँग त अब हिसाब हुन्छ तिमीलाई पछुतो हुन्छ ।’
जसपाले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभाका चार जना सदस्य (सांसद)हरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
जसपाद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार निष्कासनमा पर्नेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फबाट निर्वाचित हेमा वेल्वासे के.सी., बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहेका छन् ।
उनीहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा समेत सहभागी भएको विषयमा कारबाही गरिएको जसपाले जनाएको छ ।
जसपाको साधारण सदस्यता समेत नरहने गरी कारबाहीमा परेका सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारमा शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री छन् । भण्डारीलाल अहिर आन्तरिक मामिला, कानून, उद्योग तथा यातायातमन्त्री छन् ।



बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया