कानूनले बर्जित गरेको कार्य गर्ने अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना वीरगञ्जमा पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जस्थित क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, प्रहरी इन्स्पेक्टर प्रदीप पौडेलसहित ८ जनलााई पक्राउ गरेको छ ।

भदौ २० गते राति शनिबार अन्दाजी साढे १० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रा.लि.(क्यासिनो)बाट अध्यक्ष यादवलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मल्लले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनो (गोल्डेन फिङ्गर गेमिङ जोन प्रा.लि.मा नेपाली नागरिकहरू प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले टोली परिचालन भएको थियो ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३६ का जसवन्त यादव (गाउँपालिकाका अध्यक्ष), सोही ठाउँ बस्ने बर्ष ३० का चन्दन सहनी, वीरगञ्ज महानगरपालिका वडा नं.११ बस्ने बर्ष ३९ का ओमप्रकाश बैठक र स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ७ बसने बर्ष ३६ का प्रदीप पौडेल (प्रहरी इन्स्पेक्टर) रहेका छन् ।

नेपालीलाई क्यासिनामो प्रवेश गराउने तथा खेलाउने कार्यमा संलग्न क्यासिनोका कर्मचारीहरू वीरगञ्ज–१४ बस्ने बर्ष २८ का विजयकुमार पटेल, वीरगञ्ज– २५ बस्ने बर्ष ३१ का दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ घर भएका बर्ष ४९ का जयदेव साह र वीरगञ्ज– १२ बस्ने बर्ष ५० का प्रदेशी साहलाई पनि पक्राउ गरिएको डीएसपी मल्लले बताएका छन् ।

प्रहरी टोलीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय यादव जो सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष पनि हुन्, उनीसहित वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा, हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको छ ।

इन्स्पेक्टर पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रहेको प्रहरी स्रोतले बताएको छ ।

क्यासिनो प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ । गाउँपालिकाको ना १ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे आइतबार प्रेस विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् । नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश तथा जुवा खेल्न कानूनले बर्जित गरेको छ ।

क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्दा मुलुकी अपराध संहिता, २०७४ (दफा १२५ – जुवा खेल्न वा खेलाउन नहुने) अनुसार कारवाही हुन्छ । अध्यक्ष यादव क्यासिनोमा कुन प्रयोजनले पुगेका थिए त्यो भने खुलेको छैन् ।

Published : Sunday, 2026 September 6, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया