सानेपाबाट क्यानडाका सभापतिमाथि ‘कु’, ५ वर्ष कारबाहीमा परेका अन्तरघातीलाई संयोजक दिएपछि ५ सयको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिले नेपाली जनम्पर्क समिति, क्यानडाका सभापति बुद्धिप्रकाश ओलीमाथि ‘कु’ गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालको हस्ताक्षर रहेको पत्रमार्फत ५ बर्षका लागि अनुशासनको कारबाहीमा परेका अन्तरघाती केशवप्रसाद दाहाललाई संयोजक नियुक्त गरिएको पत्र दिएपछि विवाद उत्पन्न भएको हो । विवादले उग्ररुप लिएपछि सानेपाबाट ‘कु’ भएका सभापति ओलीको बचाउमा क्यानडामा ५ सय क्रियाशील सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
सभापति ओलीले भने, ‘म नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिको हैसियतले गम्भीर अन्यायमा परेको छु । यस कठिन परिस्थितिमा यहाँहरूको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्दै सम्पूर्ण घटनाक्रम जानकारी गराउन चाहन्छु ।’
सभापति ओलीले भने, ‘नेपाली जनसम्पर्क समिति क्यानडाको चौथो अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट पुनः मिति निर्धारण गरी यही सेप्टेम्बर १९ र २०, २०२६ मा अधिवेशन आयोजना गर्ने तयारी गरिएको थियो । आदरणीय पार्टी सभापतिज्यू तथा महामन्त्रीज्यूहरूको सल्लाहअनुसार केन्द्रीय सहमहामन्त्री श्री योगेन्द्र चौधरीज्यू र केन्द्रीय सदस्य श्री उज्ज्वल बरालज्यूलाई आवश्यक सम्पूर्ण अधिकार प्रदान गरी क्यानडा पठाउने निर्णय भएको थियो । उहाँहरूले क्यानडा आउन भिसासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी हवाई टिकट लिने तयारीसमेत गरिसक्नुभएको अवस्था थियो ।’
‘दुःखका साथ भन्नुपर्छ—उहाँहरूलाई समेत कुनै जानकारी नदिई नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचित सभापति म, बुद्धिप्रकाश ओलीको सम्पूर्ण कार्यकारी अधिकार खोसेर मलाई अप्रत्यक्ष रूपमा पदमुक्त गर्ने प्रयास गरिएको छ र योभन्दा एक बर्ष पहिले बिदेशको नागरिकता लियको भनी सम्पूर्ण पद बाट बर्खास्त गरियको अन्यया पूर्ण पत्राचार गरियको थियो सो बेला पनि तत्कालिन सम्पूर्ण सभापतिको सहयोगले मलाई पुनःबहाली गरियको थियो ।’
‘नेपाली जनसम्पर्क समिति क्यानडाको स्थापनाकालदेखि नै समानान्तर गतिविधिमा संलग्न समूहको कानूनी सल्लाहकारका रूपमा रहेका तथा गत एनआरएनए निर्वाचनमा समितिका आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोही उम्मेदवार उठाएर पराजित गराउन भूमिका खेलेका श्री केशव दाहाललाई सम्पूर्ण कार्यकारी अधिकारसहित निर्वाचन संयोजक तोकी पठाइएको छ,’ सभापति ओलीले भने ।
‘निर्वाचनमा नेपाली जनसम्पर्क समिति क्यानडाका उपसभापति एवं महासमिति सदस्य चन्दा अधिकारी, महामन्त्री सुशील भुसाल, सचिव रायन तिवारी, कोषाध्यक्ष नेत्र भट्टराई, युवा संयोजक विवेक धिमाल, पूर्वी क्यानडा संयोजक दीपक बुढाथोकीलगायत समितिका आधिकारिक उम्मेदवारहरूविरुद्ध विद्रोही उम्मेदवार खडा गरिएको थियो,’ सभापति ओलीले भने, ‘यही कारण नेपाली जनसम्पर्क समिति क्यानडाको बैठकले श्री केशव दाहाललाई पाँच वर्षका लागि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।’
‘यस गम्भीर परिस्थितिपछि हामीले तत्काल बैठक बसी नेपाली जनसम्पर्क समिति क्यानडाको आहवान मा ५५२ जना क्रियाशील सदस्यहरू आधिकारिक रुपमा केन्द्रमा दर्ता गरी केही पैसा समेत् जम्मा गरिसकेकोले सो ५५२ जनामध्ये ५०० जनाले सभापति बुद्धिप्रकाश ओलीमाथि गरिएको अन्ययाविरुद्ध स्वतः ५०० जना क्रियाशील सदस्यता लिएका व्यक्तिहरूले आ–आफ्नो सामूहिक रूपमा (राजीनामा) कृयाशील सदस्यता फिर्ता गरी नेपाली जनसम्पर्क समिति क्यानडाको चौथो अधिवेशन हामी आफैँले क्यानाडाको कानूनअनुसार रजिस्टर गरिएको संस्था भएकोले यो समितिलाई विधिसम्मत र भव्य रूपमा सम्पन्न गरी मेरो जिम्मेवारीमा रहेको सभापतिको अन्तिम कार्यकाल रहेको र नयाँ युवा पुस्तालाई जिम्मेवारी दिने समेत् निर्णय गरेका छौँ,’ सभापति ओलीले भनेका छन् ।
‘आज ममाथि भएको अन्याय भोलि यहाँहरूमाथि पनि हुन सक्छ । हामी विदेशस्थित नेपाली जनसम्पर्क समितिका निर्वाचित सभापतिहरूको पद र अधिकार कसले, कहिले र कुन प्रक्रियाबाट खोस्ने हो भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ ।’
‘विदेशस्थित जनसम्पर्क समितिहरूलाई खेलौनाजस्तो व्यवहार गरिनु अत्यन्त दुःखद् र आपत्तिजनक छ,’ सभापति ओलीले भनेका छन् ।
‘अन्य देशका सभापतिहरूलाई पदमुक्त गर्दा पार्टी सभापतिज्यूको हस्ताक्षरसहित आधिकारिक पत्र पठाइएको देखिन्छ,’ सभापति ओलीले भने, ‘क्यानडाको हकमा भने ‘निर्देशन’का नाममा कार्यवाहक मुख्यसचिवज्यूबाट पत्राचार गरिएको जानकारी सामाजिक सञ्जालमार्फत मात्र प्राप्त भएको छ ।’
‘यस विषयमा आजसम्म मलाई पार्टीको कुनै पनि आधिकारिक निकायबाट औपचारिक जानकारी वा पत्र प्राप्त भएको छैन,’ सभापति ओलीले भने, ‘सम्बन्धित व्यक्तिलाई आधिकारिक जानकारी नदिई बाहिर–बाहिर फेसबुकमा पत्र सार्वजनिक गरिनु संगठनात्मक मर्यादा, विधि र न्यायको सिद्धान्तविपरीत छ ।’
‘त्यसैले ममाथि तथा नेपाली जनसम्पर्क समिति क्यानडामाथि भएको यस गम्भीर अन्यायबारे यहाँहरूलाई जानकारी गराउँदै सत्य, विधि, न्याय र संगठनको मर्यादाका पक्षमा साथ तथा ऐक्यबद्धता प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ सभापति ओलीले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया