सुरुङभित्र खोजी र उद्धारका लागि स्वीजरल्याण्डले दियो अत्याधुनिक ड्रोन, ठोक्किदा पनि क्षति नहुने
काठमाडौं । जोखिमपूर्ण क्षेत्रका सुरुङभित्र उद्धार तथा खोजीकार्यलाई प्रभावकारी बनाउन स्वीट्जरल्याण्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।
नेपालका लागि स्वीजरल्याण्डको राजदूतावासले ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
स्वीट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले त्यो निर्माण गरेको हो । ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका निम्ति प्रयोग गर्न सकिने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
‘स्वीट्जरल्यान्डका मानवीय सहायताविज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्,’ सचिवालयले भनेको छ ।
विशेष गरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारो, साँघुरो तथा जोखिमपूर्ण सुरुङभित्र खोजी र निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको जनाइएको ।
ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएकाले सुरुङका भित्ता, चट्टान वा अरू संरचनामा ठोक्किँदा समेत क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता छ ।
‘सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई जोखिमको मूल्यांकन, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धारको रणनीति तय गर्न यो प्रविधिले महत्त्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ,’ मन्त्री श्रेष्ठको सचिवालयले भनेको छ ।
प्राधिकरणका अनुसार, नयाँ प्रविधिको प्रयोगले सुरुङभित्र उद्धारकर्तालाई प्रत्यक्ष प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया