बेत्रावती बजारमा बाढीले पुरिएको ११औं दिनमा ६४ वर्षीया महिलाको जीवितै उद्दार
त्रिशूली । नुवाकोट जिल्लामा त्रिशूलीको विनाशकारी बाढीमा पुरिएको घरबाट ११औँ दिनमा एक महिलाको प्रहरीले शनिबार जीवितै उद्धार गरेको छ ।
प्रहरीले विदुर नगरपालिका–१० बेत्रावती बस्ने आनन्दलाल श्रेष्ठको श्रीमती ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्दार गरेको प्रहरी प्रधान कार्यालय नक्सालद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी कार्य गरिरहेको थियो । सोही क्रममा आनन्द लालको ४ तल्ले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको कुरा प्रहरी निरीक्षक दर्नालले बताए । ‘त्यसपछि पर्खालमा सानो प्वाल बनाएर सोधी खोजी गर्दा भित्रबाट बचाउ–बचाउ भन्ने आवाज सुनियो । पर्खाल फुटाएर उनको उद्दार गर्न हामी सफल भएका हौं,’ उनले भने ।
उद्दार कार्यमा स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायले समेत आवश्यक सहयोग गरेका थिए ।
उद्दार गरिएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं पठाइएको छ । हाल उनको अवस्था मध्यम (बोल्न सक्ने) रहेको बताइएको छ ।
बाढीका प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरीले स्थानीय तह एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिइ उद्दार तथा खोज कार्य गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया