प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेट, उद्धार र राहतका विषयमा जानकारी माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भोटेकोशी बाढीले गरेको बिनासलाई लिएर भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्री शाहको निजी सचिवालयले जनाएको छ ।

प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच छलफल भएको छ ।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको सभापति लामिछानेलाई जानकारी गराएका छन् ।

सभापति लामिछानेसँग भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूले सरकारको तर्फबाट उचित सहयोग नपाएको लगायतका गुनासा गरेपछि सभापति लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका साथै प्रभावित पालिकाका प्रमुखहरूले समेत केन्द्र सरकारबाट समन्वय र सहयोग नपाएको गुनासो सभापति लामिछानेसँग गरिसकेका छन् ।

Published : Monday, 2026 August 31, 4:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया