शव पहिचानमा प्रहरीको विज्ञ टोली परिचालन, प्रभावित क्षेत्रमा उद्दार तथा खोजी गर्न ८ हजार प्रहरी
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा विभिन्न टोली परिचालन गरिएको आइतबार प्रहरी प्रधान कार्यालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।
प्रहरी नायव महानिरीक्षक सुदर्शन कोइरालाको कमाण्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’ मार्फत विपद् व्यवस्थापन, उद्दार, खोजी, राहत वितरण, शव संकलन एवम् व्यवस्थापन लगायत सम्रग कार्यको प्रभावकारी समन्वय भइरहेको छ ।
प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाको कमाण्डमा रहेको शिक्षण अस्पताल महाराजगंजको कमाण्ड पोष्ट मार्फत विभिन्न अस्पतालहरूसँग समन्वयमा घाइतेको उद्दार, उपचार र शव व्यवस्थापन कार्य भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली समेत प्रभावित जिल्लाहरूमा परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुरूप विपद् व्यवस्थापनको लागि प्रहरी कर्मचारीहरूलाई परिचालन गरिदै आएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भने, ‘विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको प्रमुख दायित्व हो । सोही अनुरूप नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्दार एवम् खोज कार्यमा कुनै पनि त्रुटि एवम् कमि कमजोरी हुन नदिन उपलब्ध साधन स्रोतका उच्चतम् प्रयोग गरी नागरिकको जीउ धनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । बाढी प्रभावित क्षेत्रहरूमा उद्दार एवम् खोजको लागि स्थानीय तह एवम् अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रहरीले कार्य गरिरहेको छ ।’
बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्दार पश्चात मेडिकल सहायताका लागि नेपाल प्रहरी अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा उद्दार एवम् खोजीको लागि ड्रोन एवम् कुकुर सहितको टोली छुट्टाछुटै स्थानमा परिचालन गरिएको छ ।
कानूनी सहायता तथा घटनास्थल सम्बन्धी मुचुल्का टोली परिचालन गरिएको छ । काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा २२ वटा होल्डिङ सेन्टरहरूको व्यवस्था गरी प्रभावित क्षेत्रका घाइतेहरूको उद्दार तथा राहत वितरणलाई व्यवस्थित गरेको छ ।
शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ । शव व्यवस्थापनमा शवको फोटो, भिडियो सहितको अभिलेखिकरण गरी डीएनए, फिङ्गर प्रिन्टको नमूना समेत संकलनको लागि थप फरेन्सिक विशेषज्ञहरूसँगको समन्वयमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८३) बमोजिम स्थानीय तहसँग आवश्यक समन्वय गरी कार्य गरिरहेको छ ।
फेला परेका शवहरूको सनाखतको लागि शवहरूको तस्विर ट्याग सहित नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा राखिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया