बाढी प्रभावितलाई देउखुरीका थारुहरूद्वारा ‘एक घर, एक किलो चामल दान’, पहिलो दिन ५७ क्विन्टल संकलन

लमही । थारु कल्याणकारिणी सभा, देउखुरीले रसुवाको भोटेकोशीका बाढी प्रभावितहरूका लागि ‘एक घर, कम्तीमा एक किलो चामल दान’ अभियान सञ्चालन गरेर चामलसहितका राहत सामग्री संकलन गरेका छन् ।

शनिबार पहिलो दिन देउखुरीका १० वटा गाउँबाट उत्साहजनक रूपमा चामल संकलन भएको थारु कल्याणकारिणी सभा, देउखुरीका सचिव यमबहादुर चौधरीले जानकारी दिएका छन् ।

राहत संकलन अभियानमा थारु कल्याणकारिणी सभा, क्षेत्रीय समिति क्षेत्र नं. १, देउखुरीको संयोजन तथा प्रगन्ना कुलो सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाको भानपुर, मझमेरिया प्रगन्ना मूल समिति र कालापानी प्रगन्ना मूल समितिको समन्वय तथा सहकार्यमा स्थानीय गाउँबस्तीबाट राहत संकलन गरिएको छ ।

पहिलो दिन अर्थात् शनिबार राप्ती गाउँपालिका– ५, लठ्ठहवाबाट १५ क्विन्टल, लमही नगरपालिका–२, बरवागाउँ– ८ क्विन्टल, राप्ती गाउँपालिका– ६, बगरापुरबाट ६ क्विन्टल, राप्ती गाउँपालिका–७ भानपुरबाट ६ क्विन्टल, राप्ती गाउँपालिका– ७, छुट्की सिसहनियाँबाट ५ क्विन्टल, राप्ती गाउँपालिका –६, सगरापुरबाट ४ क्विन्टल, राप्ती गाउँपालिका– ६, भगवानपुरबाट ४ क्विन्टल, राप्ती गाउँपालिका– ६, मझिरियाबाट ३.५ क्विन्टल, लमही नगरपालिका–२, केरुनियाबाट ३.५ क्विन्टल, लमही नगरपालिका– २, छिङ्गतपुरबाट २ क्विन्टल गरि ५७ क्विन्टल चामल संकलन भएको सचिव चौधरीले बताएका छन् ।

यस मानवीय अभियानमा आफ्नो घरबाट कम्तीमा एक किलो चामल सहयोग गर्नेहरूप्रति थारु कल्याणकारिणी सभा, देउखुरीले धन्यवाद दिएको छ ।

‘बाढीको विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानमा तपाईंको सानो सहयोगले पनि ठूलो अर्थ राख्छ,’ सचिव चौधरीले भने, ‘भोलि आइतबार दोस्रो दिनको राहत संकलन अभियान सञ्चालन हुनेछ । सम्पूर्ण गाउँबस्ती तथा सहयोगी मनहरूलाई अभियानमा सहभागी भई सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं ।’

Published : Saturday, 2026 August 29, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया