उद्धार र सहयोगका लागि डीआईजी कोइरालाको नेतृत्वमा हेडक्वाटरबाट विभिन्न टोलीहरू परिचालन
काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले तत्काल उद्दार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायता एवम् प्रभावकारी समन्वयको लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शन कोइराला (९८५१२८०४००)सहितको विभिन्न टोली परिचालन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको समग्र गतिविधि लगायत वस्तुस्थिती सम्बन्धमा जाहेर गर्न आपतकालीन समन्वय केन्द्र स्थापनार्थ नेपाल प्रहरी प्रधान कार्यालयमा वेश रहने गरी प्रहरी नायव महानिरीक्षक कोइरालासहितको टोली परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकास्थित विभिन्न अस्पतालहरूका समन्वय अधिकृतहरूसँग समन्वय गर्नुका साथै समग्र प्रहरी परिचालन गर्ने गरी शिक्षण अस्पताल महाराजगंजमा कमाण्ड पोष्टमा रहने गरी प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना (९८५१२८०६००)को कमाण्डमा टोली परिचालन गरिएको छ ।
विभिन्न स्थानमा भएको घटनास्थलमा उद्दार एवम् राहत कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा (९८५१२८०७८९)को कमाण्डमा केनाईन (तालिम प्राप्त कुकुर) सहितको टोली परिचालन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनी (९८५१२८१३३०)को कमाण्डमा ४ जनाको टोली कानुनी सहायताको लागि परिचालन गरिएको छभने प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराई (९८५१२८१३२१)को कमाण्डमा ५ जनाको टोली सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूको खोजतलासको लागि सम्बन्धित प्रहरी कर्मचारी तथा निजको परिवारसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल (९८५१२८०४७५)को संयोजकत्वमा ६ जनाको टोली शव व्यवस्थापनको लागि परिचालन गरिएको छभने प्रहरी उपरीक्षक निर्मल बुढाथोकी (९८५१२८१३४०)को संयोजकत्वमा १५ जनाको टोली घटनास्थलमा राहत वितरण सहायताको लागि परिचालन गरिएको छ ।
प्रहरी उपरीक्षक राजकुमार सिलवाल (९८५१०८७४७८)को कमाण्डमा ४ जनाको टोली मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूको शव विमानस्थलमा प्राप्त हुन आउने अवस्थामा शवको सुरक्षित व्यवस्थापन, पहिचान, सम्बन्धित निकाय तथा मृतकका आफन्तसँग आवश्यक समन्वय एवम् अन्य आवश्यक कार्यको लागि हेल्प डेक्स स्थापना गरी कार्य संचालन गर्न परिचालन गरिएको छ ।
प्रहरी उपरीक्षक रबिन श्रेष्ठ (९८५१०५८०३३) र प्रहरी नायव उपरीक्षक कमल बेल्वासे (९८५१२८१९२२) लाई समन्वय अधिकृत तथा प्रहरी नायव उपरीक्षक अनिल ठाकुर (९८५१२८२८५९) लाई अन्य सुरक्षा निकायसँग समन्वय गर्नको लागि समन्वय अधिकृतको रूपमा खटाइएको छ ।
प्रहरी नायव उपरीक्षक हिरेन्द्र बहादुर रोकाया (९८५८४९०१७४)को कमाण्डमा १२ जनाको टोलीलाई नुवाकोटतर्फ र प्रहरी निरीक्षक काशिराज थापा (९८४१५१३१५६) को कमाण्डमा ९ जनाको टोलीलाई चितवनतर्फ घटना सम्बन्धी मुचुल्का तयार गर्न परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्दबहादुर बुढाथोकी (९८४९३९२६२३)को कमाण्डमा २२ जना चिकित्सक टोली रसुवातर्फ पठाइएको छ । विपद् व्यवस्थापन तालिम केन्द्र सामाखुसीबाट ३४ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, हेटौंडाबाट १५ जना दक्ष प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजी कार्यका लागि ४ वटा ड्रोन परिचालन गरिएको छ । शव सनाखतको लागि नेपाल प्रहरीको वेवसाइट पेजबाट आवश्यक जानकारी लिन सकिनेछ ।
नेपाल प्रहरीले बाढी तथा विपद् प्रभावित जिल्लाहरूमा उद्दार, खोज तथा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सिनियर प्रहरी अधिकृतहरूलाई सम्पर्क व्यक्तिको रूपमा थप परिचालन गरेको छ । जसअनुसार प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरे (९८५६०६२२५५) जिल्ला प्रहरी कार्यालय तनहुँ, प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल (९८५१२२९८६०) जिल्ला प्रहरी कार्यालय धादिङ, प्रहरी नायव उपरीक्षक अनिल पण्डित (९८५७०८७५५५) जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ (९८५६०६११९०) जिल्ला प्रहरी कार्यालय गोरखा, प्रहरी निरीक्षक मनीष श्रेष्ठ (९८५७०९०५५४) जिल्ला प्रहरी कार्यालय चितवन, प्रहरी निरीक्षक डिल्लीराज सापकोटा (९८५१२९४९०९) जिल्ला प्रहरी कार्यालय रसुवा र प्रहरी निरीक्षक वीरबहादुर बुढा ऐर (९८५१२९८८००) लाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थप खटाइएको छ ।
रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीले सम्पर्कविहीन प्रहरी तथा बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्दार कार्यलाई निरन्तरता दिइरहेको छ । अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालना गर्न प्रहरील विशेष अनुरोध पनि गरेको छ ।
यसैबीच, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०ः३० बजेसम्म १ सय जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १९ जना, तनहुँमा ७ जना र नवलपरासी पूर्वमा ११ जना गरी १ सय जनाको शव फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया