‘नाठो’सँग मिलेर पत्नीद्वारा पतिको हत्या, पाँच अभियुक्तहरू पक्राउ, कर्णाली नदीमा शव
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने ३३ वर्षीय दीपक सुनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले उनीहरूलाई मंगलबार पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–४ बस्ने ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका–१० बस्ने ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका–३ बस्ने ३२ राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ बस्ने ५६ वर्षीय बीरेन्द्र राना र सोही नगरपालिका–८ बस्ने ३२ वर्षीय भीमा राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रारम्भीक अनुसन्धानको क्रममा दीपकको श्रीमती यमुना सुनारले प्रेमी (नाठो)सँग मिलेमतो गरी हत्या गर्ने योजना बनाई अमरावती जंगलमा हत्या गरी कर्णाली नदीमा फालेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।
पति दीपक सुनारको हत्या गर्न श्रीमती युमना सुनारले प्रेमी दुर्योधन सुवर्णकारसँग मिलेर डेढ लाख रुपियाँको सुपारी दिएको खुलेको छ । प्रहरीका अनुसार यमुना र उनका प्रेमी दुर्योधन सुवर्णकारले दीपकको हत्या गर्न अन्य व्यक्तिलाई डेढ लाख रुपियाँ सुपारी दिएका थिए । योजनाअनुसार अमरावती जंगलमा हत्या गरी शव मोटरसाइकलमा लगेर दुई टुक्रा पार्दै कर्णाली नदीमा फालिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरू उपर कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया