कांग्रेसको बिचाराधीन मुद्दामा न्यायलयमाथि प्रहार गर्ने गगन समूहकी कुसुमलाई दीपकको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजितरुपमा ‘अदालत सेटिङ’ गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलबार कांग्रेस नेता खड्काले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर यो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गरिएको बताएका हुन् । उनले न्याय र स्वतन्त्रताको लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तकै विश्वास र भरोसा रहेको बताएका छन् । सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको पूर्वमन्त्री खड्काले बताएका छन् ।

‘न्यायको सर्वब्यापी सिद्धान्त ‘जस्टिस फर अल’लाई आत्मसात गर्दै नेपाली कांग्रेसको आन्तरिक जीवनमा भएको केही अन्यायपूर्ण घटनामा न्याय खोज्न न्यायको मूर्ति सर्वोच्चको ढोका ढक्ढकाएको हो,’ खड्काले भने, ‘सम्मानित सर्वोच्च अदालतमा आज उत्प्रेषण, प्रतिषेध र परमादेश समेत (अन्तरकालीन आदेश जारी गरी पाउँ भनी) माग गरि (दर्ता नम्वर–०८३–एफएन–०३२३) न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले नियोजित रूपमा “अदालत सेटिङ” गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘यो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गर्दछु,’ खड्काले भने, ‘जिम्मेवार मिडिया समेत यसप्रति सचेत रहन आग्रह गर्दछु ।’

‘न्याय र स्वतन्त्रताको लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा छ । सम्मानीत सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त छु । जय नेपाल,’ कांग्रेस नेता खड्काले भनेका छन् ।

गगन थापा निकटकी नेतृ एवम् पूर्वसांसद कुसुम थापाले नेता खड्काको नाम उल्लेख गरेर सामाजिक सञ्जालमार्फत् कांग्रेसको बिचाराधीन मुद्दामा अदालतमा सेटिङ गरेको भन्दै सर्वोच्च अदालतको मानमर्दन र मानहानी गर्ने कार्य गरेपछि नेता खड्काले खण्डन गरेका छन् ।

न्यायलयको मानहानी गरेर अपुष्ट कुरा सामाजिक सञ्जालमा जथाभावी लेख्ने कुसुम थापा कथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिको केन्द्रीय सदस्य पनि हुन् ।

Published : Tuesday, 2026 August 25, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया