बद्मासी गरेर सम्पर्क विहीन बनेपछि काभ्रेका नवीन र सल्यानका रेउले काठमाडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भएका ३७ वर्षीय नवीन लामा र काठमाडौं महानगरपालिका–३२ बस्ने सल्यानको शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउले रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये नवीनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रूपियाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले नवीनलाई काठमाडौं महानगरपालिका–२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2026 August 22, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया