काठमाडौंमा होस्टलभित्र दाङका बसन्तको हत्या, ६ आरोपीहरू पक्राउ
काठमाडौं । दाङ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको काठमाडौंमा हत्या भएको छ ।
काठमाडौं महानगरपालिका–१० शंखमुल भ्याली ब्वाईज होस्टलमा बस्ने घोराही उपमहानगरपालिका वडा नं. १७ घर भएका बसन्तको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बसन्तको हत्या अभियोगमा प्रहरीले होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ घर बर्ष १८ का शेखर यादवलाई शुक्रबार बिहानै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोही होस्टलमा शेखर यादब र २० वर्षीय प्रमित पटेलले शुक्रबार बिहान कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले ६ आरोपीहरूलाई पक्राउ गरेको छ । घटना हुनेवित्तिकै प्रतिम पटेल फरार भएका थिए । प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरी प्रहरीले काठमाडौंमा ल्याएको छ ।
हत्याको अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाले बताएका छन् । हत्यामा मुख्यगरी शेखर यादब र प्रमित पटेलको संलग्नता रहेको खुलेको एसपी थापाले बताएका छन् ।
कोठामा बसिरहेका बेला एक्कासि टी–टेबलले टाउकोमा हानेर बसन्तको हत्या भएको थियो ।
विवादको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भीक अनुसन्धानमा बिहीबार राति उनीहरूसँगै थिए । राति कुनै विवादलाई लिएर त्यसरी आवेगमा आई हत्या गरेको हुनसक्ने प्रहरी आशंका छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया