बागमतीमा एमाले सरकारको मन्त्री बनेपछि ३ सांसदलाई १२ घण्टे पुर्जी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका तीन जना सदस्य (सांसद)हरूसँग १२ घण्टे स्पष्टीकरण माग गरेको छ ।

राप्रपाको अनुशासन समितिले बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारमा पार्टी नीति विपरीत मन्त्री बनेका तीन जना सांसदहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङसँग १२ घण्टे स्पष्टीकरण सोधिएको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् ।

राप्रपाको कारबाहीमा परेका सांसद उद्धव थापाले एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन पार्टीको निर्णय विपरीत आफ्ना व्यक्तिगत लेटर प्याड प्रयोग गरेर समर्थन गरेका थिए । त्यसपछि राप्रपाले बिहीबार उद्धव थापाको पार्टी सदस्यता निलम्बन र सांसदबाट पदमुक्त गरिदिएको थियो ।

‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताको निजी लेटरप्याड प्रयोग गरी बागमती सरकारलाई दलको तर्फबाट भनि समर्थन दिएको कारण प्रदेश सभा सदस्य उद्धव थापाको पार्टी सदस्यता निलम्बन र प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको विषय जानकारी हुँदाहुँदै पार्टी निर्णय र निर्देशन विपरीत प्रदेश सरकारको मन्त्री पदको सपथ ग्रहण गरेका तीन सांसदहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले निजहरूलाई किन कारबाही नगर्ने भनि १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

Published : Friday, 2026 August 21, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया