कमल थापालाई मर्यादामा बस्न चेतावनी, बागमतीमा एमालेको पुच्छर बन्दा उद्धवले सबै गुमाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा बागमती प्रदेश सरकारलाई समर्थन गरेको विषयमा बबण्डर भइरहेको छ ।

बागमती प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले पार्टीको निर्णय विपरीत एमालेलाई समर्थन गरेपछि बिहीबार कारबाहीमा परेका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उद्धवको संसदीय दलको नेता र सांसद पदबाट हटाएको छभने पार्टीको सदस्यता समेत खोसिदिएको छ ।

पार्टीको निर्णय र हित विपरीतका गतिविधि गरेपछि उद्धव थापालाई कारबाहीको डण्डा चल्नु स्वभाविक नै थियो । राजनीतिक दलमा रहने हो भने पार्टीको विधान र निर्णयलाई मान्नैपर्छ । होइन भने बिकल्पहरू प्रसस्त हुन्छन् ।

उद्धव थापाले पार्टीको निर्णयलाई उल्लंघन गरेपछि राप्रपाको केन्द्रीय नेतृत्वलाई झट्का लाग्नु स्वभाविक छ । केन्द्रीय नेतृत्वले पनि उद्धव थापालाई १२ घण्टे स्पष्टीकरण सोधेर सफाइको मौका दियो । तर, उद्धव थापा यति धेरै अनुदार, अहँकार, घमण्डी र एमालेको स्वार्थमा जकडिए, स्पष्टीकरण नै दिएनन् । फलस्वरुप राप्रपाको केन्द्रीय नेतृत्वले पार्टीको सबै जिम्मेवारीबाट उद्धव थापालाई पदमुक्त गरिदियो । अब उद्धव थापा आजाद छन् ।

उवद्ध थापाको पक्षमा कमल थापा उभिएका छन् । कार्यसम्पादन समितिको बैठकमा कमल थापाले लिखित असहमति (नोट अफ डिसेन्ट) लेखेका छैनन् । तर, बाहिर आएर उद्धव थापालाई कारबाही गरेको विषयमा आफ्नो असहमति रहेको पत्रकारहरूलाई तिक्रिया दिएका छन् । राप्रपामा अध्यक्ष पदमा पराजित भएपछि पार्टी विभाजन गरेर राप्रपा नेपाल गठन गरेर बसेका कमल थापा पछि राप्रपामा समाहित भएका थिए । राप्रपामा आउनेवित्तिकै पार्टीलाई अस्थिर बनाइदिएका छन् । कमल थापा जहाँ जान्छन् त्यहाँ ‘डिस्ट्रोय’ गरेर निस्कन्छन् भन्ने उखानलाई प्रमाणित गरिदिएका छन् ।

बागमती प्रदेश सरकार बनाउन एमालेका किरण थापा मगरले राप्रपाका उद्धव थापालाई प्रलोभनमा पारेको स्वयम् राप्रपाकै नेताहरूले बताइरहेका छन् । किरण थापा मगरले मुख्यमन्त्री पदको शपथ लिने क्रममा एमालेका सचिव महेश बस्नेत पनि सहभागी थिए । अब आफै बुझ्न सकिन्छ सरकारलाई समर्थन नगर्ने निर्णय गरेको राप्रपाका उद्धव थापालाई एमालेले कसरी मनायो होला त ? गम्भीर प्रश्न उठेको छ ।

यता, राप्रपाका प्रवक्त मोहनकुमार श्रेष्ठले बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कसैले पनि नोट अफ डिसन्ट नलेखेको बताएका छन् । श्रेष्ठले भने, ‘राप्रपाको हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कोही कसैले कुनै पनि विषयमा लिखित रुपमा “नोट अफ डिसेन्ट” लेख्नुभएको छैन ।’

‘पूर्व अध्यक्ष कमल थापाले मात्र मौखिक रुपमा निर्णयमा मेरो “नोट अफ डिसेन्ट” रहन्छ भन्नुभएको हो र उहाँको सम्मानका लागि प्रेस विज्ञप्तिमा ‘बैठकको निर्णयमा पूर्व अध्यक्ष कमल थापाको फरक मत रहेको’ कुरा उल्लेख गरिएको हो जुन बाध्यकारी थिएन । बैठकको मर्यादा जोगाउनु बैठकका सदस्यहरूको मर्यादा हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

राप्रपाले कमल थापालाई मर्यादामा बस्न सचेत गराएको छ । एमालेको चुनाव चिन्ह ‘सूर्य’बाट उम्मेदवार बनेर पनि पराजित भएका कमल थापाको बिगतको राजनीतिक इतिहास बिवाद रहित छैन । कमल थापाका कारण राप्रपाले पटक पटक ठूलो क्षति व्यहोरिसकेको छ । फेरि पनि कमल थापाले उद्धव थापा र बागमती प्रदेश सरकारको विषयमा आगो सल्काएर राप्रपालाई ठूलो क्षति पुर्‍याउन खोजेका छन् ।

Published : Friday, 2026 August 21, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया