सांसद सुनारले सभापति लामिछानेकै निर्देशन अटेर गर्दै फेरि दिए प्रहरीको मानमर्दन हुने गरी अभिव्यक्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको गतिविधि अस्वभाविक, उत्तेजित र गैरसंसदीय रहेको भन्दै सचेत गराएका बेला रास्वपाकै सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मानमर्दन र बद्नाम हुने गरेर पुष्टि नै नभएको विषयमा फेरि उत्तेजित अभिव्यक्ति दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले नेपाल प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाए । उनले प्रहरी मुख्यालय बिचौलियाहरूको कब्जामा रहेको आरोप पनि लगाएका छन् । सुनारले भ्रष्टाचारको विषयमा आफू प्रमाणसहित अडिग रहेको बताए ।
सुनारले १५ दिनअघि नै प्रहरीको पोसाक खरिदमा भएको बदमासीका बारेमा कागजात माग गरिएको बताए । उनले विवरण लुकाएर फेरि पनि करोडौँको टेन्डर आह्वान गरिएको भन्दै प्रहरीको बद्नाम गरेका छन् ।
प्रहरी हेडक्वाटरलाई बिचौलिायले कब्जा गरेको भनेर फेरि पनि मनगढन्ते विवादास्पद अभिव्यक्ति दिएका छन् । प्रहरीको दैनिक कार्यसम्पादनहरूमा असर पर्ने गरेर सत्तारुढ दलका सांसद सुनारबाट बारम्बार आइरहेका यस्ता खालका अभिव्यक्ति र हर्कतले नेपाल प्रहरीको मनोबल कमजोर बनेको छ ।
सत्तारुढ दलको सांसद हुँभन्दैमा सनारले प्रहरीमाथि जे मन लाग्यो त्यही आरोप लगाएर बद्नाम गर्न पाउँछन् ? गम्भीर प्रश्न उठेको छ । सांसद जस्तो व्यक्तिले अभिव्यक्ति दिँदा त्यसले पार्न असर, गरिमा लगायतलाई ध्यान दिनुपर्छ ।
‘हामीले १५ दिनभित्रमा त्यो प्रहरीको पोसाक खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आएकै छैन,’ सुनारले भने, ‘फेरि यहीबीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् ।’
सांसद सुनारले आफूले उठाएका प्रश्नहरूमा कुनै सम्झौता नगर्ने बताए । आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको भए वा मानमर्दन भएको लागेमा अदालत जान सुनारले सुझाव दिए । ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उता पट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिन म तयार छु,’ उनले भने ।
आफ्नो पार्टीका सांसदहरूको अभिव्यक्ति र गतिविधिमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि सभापति रवि लामिछानेले बुधबार मात्रै संसदीय दलको बैठक राखेर जिम्मेवार हुन निर्देशन दिएका थिए । तर, त्यसकै भोलिपल्ट सांसद सुनारले पुनः नेपाल प्रहरी र आईजीपीमाथि पुष्टि नै नभएका विषयमा आक्षेप लगाएका छन् ।
सुनारको अभिव्यक्ति विवादमा परेपछि गृहमन्त्री सुधन गुरुङ कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उपस्थित भएका थिए । सो बैठकमा गृहमन्त्री गुरुङले रास्वपाका सांसद सुनारको आरोप र व्यवहारको खण्डन गर्ने आशयमा बोलेका थिए ।
‘मेरो अनुपस्थितिमा हाम्रो सचिव र प्रहरी प्रमुखज्यूहरूलाई जुन व्यवहार समितिमा भयो, त्यसमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्नचाहिँ मिल्दैन । आरोप जो कोहीले पनि लगाउन सक्यो भन्दैमा कसैको चरित्रहत्या चाहिँ गर्न पाइँदैन’, मन्त्री गुरुङले भनेका थिए, ‘त्यसमा पनि कानूनमा केही गर्नुपर्छजस्तो लाग्छ मलाई । इट इज नट गुड । यसमा हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । वी आर नट ह्याप्पी अबाउट इट ।’
आफ्नै पार्टीका सभापति लामिछोन र गृहमन्त्री गुरुङले यस्ता अभिव्यक्ति नदिन सचेत गराए पनि सांसद सुनारले टेरपुच्छर लगाएका छैनन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया