राष्ट्रिय सम्मेलन पारित गरेका प्रस्तावहरू संविधानसँग नबाझिने गरी साउद नेतृत्वको समितिले परिमार्जन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले पारित गरेको प्रस्तावहरूलाई परिमार्जनसहित भाषा मिलाउने कार्य नेता एनपी साउद नेतृत्वको समितिले शुरु गरेको छ ।

कांग्रेसको राष्ट्रिय सम्मेलन काठमाडौंमा तीन दिन साउन २९, ३० र ३१ गतेसम्म सञ्चालन भएको थियो । सम्मेनलमा प्रस्तुत प्रस्ताव र सुझावलाई समेट्दै परिमार्जनसहित लिखित दस्तावेज बनाइनेछ । बन्दसत्रमा आएका सुझावहरूलाई समेत साउद नेतृत्वको समितिले समेट्नेछ ।

सम्मेनलले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । संविधान संशोधन जनअपेक्षाअनुसार गर्नका लागि सबैसँग संवाद गर्दै निकास दिने प्रस्ताव सम्मेनलले पारित गरेको छ । सो प्रस्तावलाई बन्दसत्रको सुझावसहित साउद नेतृत्वको समितिले परिमार्जन गर्नेछ ।

सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको कांग्रेसको राष्ट्रिय सम्मेलन सो प्रस्तावमा मिश्रिद्ध प्रतिक्रियाहरू आएका छन् । ती प्रतिक्रियाहरूलाई पनि नेता साउद नेतृत्वको समितिले संविधानमा नबाझिने गरी लिपिबद्ध गर्नेछ ।

नेता साउद संयोजकत्वको समितिको सदस्यहरूमा उमाकान्त चौधरी, सीता राना, मीन विश्वकर्मा र दीपक कुइकेललाई सदस्य छन् ।

नेता साउद नेतृत्वको समितिलाई बन्दसत्रले पारित गरेका प्रस्ताव र निर्णयहरूलाई सुझावहरूसहित परिमार्जन गर्ने अधिकार दिइसकेको छ । सो समितिले आफ्नो कामलाई अगाडि बढाएको छ । यही बेला सनातन धर्मको विषयमा गलत प्रचार प्रसारहरू भइरहेको नेताहरूले बताएका छन् । साउद नेतृत्वको समितिले परिमार्जनसहित आफ्नो दस्तावेज तयार पार्नेवित्तिकै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।

सम्मेलनले शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । ‘शेरबहादुर देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन संभव हुने दृढ विश्वास यो सम्मेलन गर्दछ,’ पारित भएको प्रस्तावमा उल्लेख छ ।

सम्मेनलले मुलुक अहिले संकटमा रहेको भन्दै लोकतन्त्रवादी शक्तिसँग राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील हुने भनेको छ ।

Published : Monday, 2026 August 17, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया