पार्टी मिलाउने जिम्मेवारी गगनजीको छ, मिलाउन नलागे जे पनि हुन सक्छ : नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी एकताको जिम्मेवारी गगन थापाको भएको बताएका छन् ।

नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका कञ्चनपुरका नेता तथा कार्यकर्ताहरूसँग काठमाडौंमा सोमबार भएको छलफलमा लेखकले पार्टी नमिलाए जे पनि हुन सक्ने बताए । उनले भने, ‘मिलाउने जिम्मेवारी अब गगनजीको छ । मिलाउन नलागे जे पनि हुन सक्छ ।’

पार्टी मिलाउन देउवा समूहले भरपूर प्रयास गर्दा पनि मिलाउन नसकिएको नेता लेखकले बताएका छन् । उनले भने, ‘हाम्रो तर्फबाट कुनै कमी भएको छैन ।’

पार्टीलाई एकढिक्का बनाउन शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको र निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने जिम्मेवारी पनि खड्कालाई दिएको लेखकले बताए ।

‘शेरबहादुर दाइको हस्ताक्षरमा चुनाव जित्न नसकिने कुरा आयो । त्यत्रो बहुमत प्राप्त गरेर जितेका सभापतिलाई तपाईं टिकटमा हस्ताक्षर नगर्नुस् भन्ने कुरा सजिलो थियो ?,’ उनले प्रश्न गर्दै भने, ‘पार्टी मिलाउनका लागि हस्ताक्षर छोडिदिनुस् भन्यौं । उहाँले पूर्णबहादुर दलाईलाई छोडिदिनुभयो ।’

‘अद्यावधिक गरेकासँग सम्पर्क बढाउनुस् । हामी उभिएको ठाउँमा ल्याउनुस्,’ लेखकले भने, ‘आजदेखि अद्यावधिक गरेका र नगरेकाहरू अलग हुने कुरा छैन ।’

नेता लेखकले कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीलाई दशैं र तिहारको बीचमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा कार्यक्रम आयोजनाको तयारी गर्न पनि आग्रह गरेका छन् ।

‘सम्भव भए दशैँ र तिहारको बीचमा जिल्लामा कार्यक्रम राख्नुहोला । एनपीजी (एनपी साउद) र मसँगै आउँछौं,’ नेता लेखकले भने, ‘तीनवटै क्षेत्रमा घुमौंला ।’

Published : Monday, 2026 August 17, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया