सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धतासहित कांग्रेसको सम्मेलन समापन

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले पाँच बुँदाको प्रस्ताव पारित गरेर समापन भएको छ ।

काठमाडौंमा शुक्रबार, शनिबार र आइतबार गरी ३ दिनसम्म चलेको राष्ट्रिय सम्मेनल आइतबार समापन भएको छ । सम्मेलन समापन हुँदै गर्दा पाँच बुँदाको प्रस्ताव पारित भएको छ । राष्ट्रिय सम्मेलनका संयोजक प्रा.डा.शशांक कोइरालाले नै १५औँ महाधिवेशनसम्म संयोजन गरेर जानेछन् । राष्ट्रिय भेलाले प्रा.डा.कोइरालालाई नै जिम्मेवारी तोकेको छ ।

सम्मेलनले शेरबहादुर देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । ‘शेरबहादुर देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन संभव हुने दृढ विश्वास यो सम्मेलन गर्दछ,’ पारित भएको प्रस्तावमा उल्लेख छ ।

सम्मेनलले मुलुक अहिले संकटमा रहेको भन्दै लोकतन्त्रवादी शक्तिसँग राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील हुने भनेको छ ।

सम्मेनलले सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । संविधान संशोधन जनअपेक्षाअनुसार गर्नका लागि सबैसँग संवाद गर्दै निकास दिने प्रस्ताव सम्मेनलले पारित गरेको नेता डा.प्रकाशशरण महतले बताएका छन् ।

राष्ट्रिय सम्मेनलले साउन ३० र ३१ गते सम्पन्न सम्मेनलमा प्रस्तुत प्रस्ताव र सुझावलाई समेट्दै लिखित प्रस्ताव पेस गर्ने जिम्मेवारी नेता एनपी साउद नेतृत्वको समितिलाई दिएको छ । समितिमा उमाकान्त चौधरी, सीता राना, मीन विश्वकर्मा र दीपक कुइकेललाई सदस्य तोकिएको छ ।

सम्मेलनको समापन कार्यक्रममा १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलाले सम्बोधन गरेका छन् ।

Published : Sunday, 2026 August 16, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया