अहिले पनि न्यायलयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायलयले पटक पटक आफूलाई न्याय दिएको बताएका छन् ।
आइतबार काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनको समापनलाई सम्बोधन गर्दै देउवाले भने, ‘सर्वोच्च अदालतदेखि सबै न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो । राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो ।
‘पञ्चायतले पनि मलाई थुनेको थियो,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘अहिले पनि न्यायलयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु ।’
देउवाले विशेष महाधिवेशनबारे आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दिएको बताए । उनले भने, ‘अझै हामीले मुद्दा हालेका छौं अदालतमा । मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ ।’
‘मैले भनेको थिएँ– पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौं यसरी नगरौं भनेर,’ देउवाले भने, ‘जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो । त्यसको खिलापमा हामीहरू अदालत गयौं ।’
उनले भने, ‘मलाई विश्वास छ– अदालतको पूर्ण निर्णय आउन बाँकी छ । त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन । अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु ।’
पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलदेखि राष्ट्रिय सम्मेलनसम्म आएर सद्भाव राख्नेहरूलाई आफूले कहिल्यै बिर्सन नसक्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले सिंगापुर र हङकङमा करीव ५ महिना उपचार गरेर साउन २८ गते स्वदेश फर्किएका थिए । देउवा र उनकी पत्नी डा.आरजु राणालाई भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा हत्या गर्ने उद्देश्यका साथ निवासमै प्रवेश गरेर सांघातिक आक्रमण भएको थियो ।
आक्रमणबाट देउवा दम्पत्ति गम्भीर भएका थिए । त्यही बेला जेनजी आन्दोलनको बहाना बनाएर सांघातिक आक्रमणबाट कमजोर बनेका देउवालाई अपदस्त गरेर गगन थापाले नेपाली कांग्रेस हाइज्याक गरेर आफूलाई सर्वसम्मत सभापति घोषणा गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया