काठमाडौंमा अपहरण गरेर १८ लाख फिरौती माग गर्ने सात जनाको समूह पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।

बिहीबार प्रहरीले सात जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुरको बागमती गाउँपालिका–५ फापरबारी बस्ने २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका–४ बस्ने २२ वर्षीय जेनिश चौधरी, ओखलढुङ्गाको लिखु गाउँपालिका–५ बस्ने २४ वर्षीय निमेश कार्की रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

चितवनको राप्ती नगरपालिका–२ बस्ने २४ वर्षीय अमित ओली, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ बस्ने २२ वर्षीय प्रदीप पोखरेल र काभ्रेको भुम्लु गाउँपालिका–८ बस्ने २३ वर्षीय देवकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने झापा घर भएका पीडितलाई अपरिचित ५÷६ जनाको समूहले अपहरण गरी, बन्धक बनाई कुटपिट समेत गरी पीडितको परिवारसँग १८ लाख रूपियाँ फिरौती रकम माग गरेको अभियोग लागेको छ ।

पीडित पक्षको सूचनाको आधारमा टेकुबाट खटिएको प्रहरीले अपहरण र फिरौती माग गरेको कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले पीडितको उद्दार समेत गरेको छ । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2026 August 15, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया