कांग्रेस हाइज्याकर समूहलाई पाटन बारमा ठूलो झट्का, पूरै प्यानल पराजित, गगन लोकप्रिय छु भन्ने भ्रम टुट्यो

जावलाखेल । उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचनमा एमाले निकट प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूह (पीपीएलए)का अध्यक्ष पदका उम्मेदवार सेवन्तराज निरौला विजयी भएका छन् ।

शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार निरौलाले १ हजार १५२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निरौलाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का उम्मेदवार देवीप्रसाद रिजाल पराजित भएका छन् ।

रिजालले १२२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका अध्यक्ष पदका उम्मेदवार भेषराज पोखरेलले १९९ मत पाएर पराजित भएका छन् ।

एमाले निकटका निरौला अध्यक्ष पदमा कांग्रेस र रास्वपा निकट अध्यक्ष पदका उम्मेदवारले भन्दा निकै धेरै मत पाएर विजयी भएका हुन् । एमाले निकट प्यानल नै विजयी भएको छ ।

उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिा १०६२ मतसहित विजयी भएका छन् । सचिवमा राजीव पोखरेल १०४५ मतसहित विजयी भएका छन् । सहसचिव पदमा सीमा सुवेदी १०५३ मतसहित विजयी भएकी छिन् । कोषाध्यक्ष पदमा दिलकुमार कार्की १०८८ मतसहित विजयी भएका छन् ।

महिला सदस्य पदमा अनिता पौड्याल ज्ञवाली, इन्दिराकुमारी शर्मा सुवेदी, बविता राई विजयी भएका छन् ।

खुल्ला सदस्य पदमा विष्णु महत, शर्मिला अधिकारी, दीपेश ओझा, सुलभ पराजुली, मैया ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन के.सी., कटकबहादुर शाही, गोविन्दकुमारसा र मात्रिका खनाल विजयी भएका छन् ।

नेपाली कांग्रेस निकटको प्यानललाई ठूलो धक्का लागेको छ । गगन थापाले भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनका नाममा कांग्रेस पार्टी हाइज्याक गरेपछि पार्टीभित्र विवाद भइरहेका बेला पाटन उच्च अदालत बारमा कांग्रेस निकटको प्यानल नै पराजित भएको छ ।

गगन थापा आफू पनि सर्लाही ४ बाट प्रतिनिधि सभा निर्वाचनमा ठूलो मतपरिणामको अन्तरबाट पराजित भएका छन् । काठमाडौं उपत्यकाभित्र पाटन उच्च अदालत बार निकै महत्वपूर्ण मानिन्छ ।

गगनले शेरबहादुर देउवाको अनुहार देखाएर कांग्रेस पराजित हुन्छ भन्दै आएका थिए । गगनको अनुहार देखाउँदा पनि पाटन उच्च अदालत बारको निर्वाचनमा कांग्रेस निकटका उम्मेदवारहरू ठूलो मतको अन्तरबाट पराजित भएपछि गगनको लोकप्रियता कति रहेछ ? भन्ने कुरा छर्लङ्ग भएको छ ।

Published : Saturday, 2026 August 15, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया