कांग्रेस फुटाउन होइन, एकतावद्ध बनाउने हो, नयाँ कार्यदिशा लिनुपर्ने अवस्था छ : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्व निकास दिनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिइएको बताएका हुन् ।
नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने बताए ।
‘मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो,’ बस्नेतले भने, ‘मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ ।’
नेता बस्नेतले भने, ‘यदि २८ गतेसम्म गगन थापाजीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिनसक्छ त्यो २९ गतेबाट शुरुवात हुन्छ ।’
मुलुकमा बढ्दै गएको निरंकुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिको रूपमा स्थापित गर्नुको विकल्प नरहेको उनले बताए ।
‘कांग्रेस फुटाउन होइन, कांग्रेसलाई अझ बलियो र एकतावद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहनुभएको छ,’ नेता बस्नेतले भने, ‘यदि निर्धारित समयसम्म निकास निस्किएन भने पार्टीले नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्छ ।’
उनले भने, ‘त्यसैले देशभर चलिरहेको यस अभियानलाई आफ्नो–आफ्नो जिल्लामा युवाहरूले एकीकृत रूपमा अघि बढाउनु नै आजको कार्यक्रमको मुख्य उद्देश्य हो ।’
नेता बस्नेतले गगन थापा समूहले रास्वपासँग मित लगाएको आरोप लगाए । उनले विगतको चुनावमा काठमाडौं ४ मा रास्वपाकै सहयोगमा गगनले चुनाव जितेको बताए ।
बस्नेतले भने, ‘नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो । चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयंले हो । होइन भन्ने कोही छ ? त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान् ।’
उनले आफूहरूले धोई पखाली गरेर फेरि इमानदार, सक्षम कांग्रेस बनाउने खोजेको बताए । उनले भने, ‘मुलुक र जनताको हित गर्ने कांग्रेस बनाउँछौँ । यो बकवास गरेर दुई चार दिनको लागि चटक देखाउने कांग्रेस होइन । मुलुक र जनता र प्रजातन्त्रको लागि सधैँ लड्ने कांग्रेस हो ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया