तपाईंहरू शेरबहादुरसँग कसरी कुरा गर्दै हुनुहुन्थ्यो, २५ गते कुन मनस्थितिमा पुग्नु भो : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले यस्तो प्रवृत्तिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पार्ने बताए ।

नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘यहाँ पाल्नुभएका विशेष महाधिवेशनका तमाम साथीहरूलाई सबै पदाधिकारी सदस्य सबैलाई भन्न चाहन्छु तपाईंहरूले पुनर्विचार गर्नुस् । गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ । त्यही बाटोबाट तपाईं हिँडिराख्नु भयो भने नेपाली कांग्रेस पार्टी मात्र होइन त्यही बाटोबाट हिँडिराख्नु भयो भने नेपालको लोकतन्त्र लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ ।’

नेता सिटौलाले केही नेताहरूले जेन–जी मुभमेन्टका कारण शेरबहादुर देउवालाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भनी दिने गरेका अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत जारी गरिएको वक्तव्यको स्मरण गराउँदै १४औं महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र क्रियाशील सदस्यहरूलाई विधिवत मान्यता दिन उनले माग गरेका छन् ।

‘तपाईंले एकपल्ट छातीमा हात राखेर सोँच्नुस् २२ गतेसम्म तपाईंहरू शेरबहादुरसँग कसरी कुरा गर्दै हुनुहुन्थ्यो अनि २५ गते कुन मनस्थितिमा पुग्नु भो तपाईंहरू ? एकपल्ट राम्ररी विचार गर्नुस्,’ सिटौलाले भने, ‘कैले काहीँ भाषणमा गर्नुहुन्छ त्यही जेन–जी मुभमेन्टकै कारण त हामीले शेरबहादुरलाई निकाल्यौँ भन्ने खालको अभिव्यक्ति कहिलेकाहीँ दिनुहुन्छ ।’

सिटौलाले भने, ‘यसमा मेरो एउटै भनाइ छ । हामीलाई हामीले त्यसबेला शेरबहादुरजीले दिनुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो उपसभापति । हाम्रै सल्लाहले उहाँले एउटा वक्तव्य निकाल्नुभयो ।’

‘तपाईंहरूले विघटन गरेको १४औँ महाधिवेशन कार्य समितिलाई तपाईं समायोजन गर्नुस् र १४औँ महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुस्,’ सिटौलाले भने, ‘नवीकरणलाई निरन्तरता दिनुस् । अध्यावधिकको नाममा नाटक गर्न पर्दैन ।’

अद्यावधिक गर्ने नाममा कुनैपनि किसिमको नाटक आवश्यक नरहेको बताउँदै उनले नवीकरण प्रक्रियालाई निरन्तरता दिँदै १४औँ महाधिवेशनका क्रियाशील सदस्यहरूको अस्तित्वलाई स्वीकार गरिनुपर्ने बताए ।

सिटौलाले गगन थापाले अधिनायकवादी शैलीको सुरुवात गरेको बताए । गगन थापाको अधिनायकवादी सोँचका कारण पार्टीभित्र एकता कायम गर्न समस्या भइरहेको उनले बताए ।

उनले पार्टीभित्र देखिएको विवादको समाधानका लागि अब निर्णायक कदम चाल्नुपर्ने अवस्था आएको समेत बताए । सिटौलाका अनुसार आफूहरूले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारीलाई अन्तिम चरणमा पु¥याइसकेका छन् ।

सिटौलाले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरू अनुकूल निर्णय आउनेमा समेत विश्वास व्यक्त गरे । उनले सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै शेरबहादुर देउवालाई कांग्रेस सभापति बनाउने बाटो खोल्नेमा आफूहरू ढुक्क रहेको दाबी गरेका छन् ।

Published : Monday, 2026 August 10, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया