म एक्लो मान्छे हो, पार्टीलाई एक गरेर जाने मेरो प्राथमिकता हो, तपाईहरूको साथ चाहिएको छ : संयोजक डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले साथीहरूले आफूलाई निकै अफ्ठ्यारो अवस्थामा उभ्याइदिएको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले भने, ‘आज मलाई अत्यन्त अफ्ठ्यारो ठाउँमा उभ्याइदिनुभएको छ नेताहरूले । संयोजक बनाएर । म एक्लो मान्छे हो । म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गरेर जाने मेरो प्राथमिकता हो ।’
डा.कोइरालाले भने, ‘हाम्रो राष्ट्रिय सम्मेलन सफल पार्न तपाईहरूको सहयोग चाहिन्छ । म एक्लैले केही गर्न सक्दैन । तपाईहरू सहयोग भएमा हातमा हात मिलाइयो भने धेरै बलियो हुन्छ । म त्यही अपेक्षा पनि गर्दछु ।’
संयोजक डा.कोइरालाले गगन थापाको आलोचना वा गाली गरेर उनलाई थप महत्व दिन नहुने बताएका छन् । उनले अब गगन थापाविरुद्ध व्यक्तिगत रूपमा गालीगलौज नगर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने, ‘अब हामी कसैले पनि गगन थापालाई गाली नगरौँ, गाली गर्दा उसलाई महत्व दिएको जस्तो हुन्छ ।’
डा.कोइरालाले भने, ‘केही भन्दा पनि नभन्नुस् त्यो नै सबैभन्दा ठूलो अपमान हो । उसको विरुद्ध केही नबोल्नु नै थापाविरुद्धको सबैभन्दा ठूलो अपमान हो ।’
नेपाली कांग्रेस युवाहरूको पार्टी भएकाले पार्टीलाई नयाँ ढंगले युवामैत्री बनाउने अभियानमा आफूहरू अघि बढ्ने डा.कोइरालाले बताएका छन् । उनले आफूहरू अब छिट्टै पार्टीको माथिल्लो तहमा पुग्ने बताएका छन् ।
‘कांग्रेस युवाहरूको हो । हामी कांग्रेसलाई अब युवाहरूको पार्टी बनाउन चाहन्छौँ,’ संयोजक डा.कोइरालाले भने । डा.कोइरालाले भने, ‘कार्यक्रममा युवाहरूलाई देखेर खुसी पनि लागेको छ । हामीलाई आरोप पनि लागेको छ, बुढाहरूको पार्टी हो भनेर । भविष्य तपाईहरूको हो । हामी त बुढा भइसक्यौँ । कुनै दिन माथि जान्छौँ । तपाईहरूलाई तयारीका साथ हामीले तपाईहरूलाई तयार पार्नुपर्छ ।’
‘नेपाली कांग्रेस भनेको के हो त्यो पहिला बुझ्नु पर्छ । अरुलाई कुरुप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नु प¥यो । त्यही अनुसार नेपाली कांग्रेस अत्यन्तै सुन्दर पार्टी हो,’ डा.कोइरालाले भने, ‘कांग्रेसको इतिहास सुन्दर छ । ७० वर्षदेखि कांग्रेस छ । वीपी कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले संघर्ष शुरु गर्नुभएको थियो । जीवनभर संघर्ष गर्नुभएको छ । हाम्रो अधिकार दिनको लागि । अधिकारबाट बञ्चित नहुनको लागि स्वतन्त्र पार्नको लागि । नेपाललाई परिचय दिनको लागि । अन्तर्राष्ट्रिय मञ्चमा नेपाल पनि एउटा देश हो भनेर ।’
डा.कोइरालाले भने, ‘नेपाल यस्तो राष्ट्र हो जसलाई इजरायलाई पहिलो रिककनाइज गर्नुभएको थियो वीपी कोइरालाले । उहाँले उनीहरूको संघर्ष बुझ्नु भएको थियो । यहुदीहरूलाई जुन दमन गरेका थिए । सेकेण्ड वर्ल्ड वारमा यहुदीमाथि अत्याचार भएको थियो । उहाँले पीडा बुझ्नुभएको थियो ।’
डा.कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि देशभरका कांग्रेस कार्यकर्तालाई एकठाउँमा उभिन आग्रह गरेका छन् । उनले राष्ट्रिय कार्यकर्ता भेलामार्फत देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई एकजुट बनाएर गगन थापा समूहलाई राजनीतिक चुनौती दिनुपर्ने बताए ।
उनले पार्टीभित्रको वर्तमान विवाद व्यक्तिकेन्द्रित नभई कांग्रेसको आगामी दिशा र नेतृत्वसँग जोडिएको विषय हो भनेका छन् । त्यसैले नेता तथा कार्यकर्ताले संयमित भएर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया