गगन निकटकै व्यक्तिहरू गगनविरुद्ध भ्रामक प्रचारमा छन् : नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गगन थापा निकटका व्यक्तिहरूले भ्रमपूर्ण प्रचार गरेको आश्चर्यमा परेको बताएका छन् ।

आइतबार प्रेस नोट जारी गरेर नेता विश्वकर्माले गगनलाई आफूले भन्दै नभनेको विषयलाई गगन निकटका व्यक्तिहरूले भ्रमपूर्ण प्रचार गरेको बताए । उनले भने, ‘स्वयं सभापति गगन थापाको निकट हुँ भन्नेले चाहीँ यस्तो भ्रमपूर्ण प्रचार गरेर आफ्नो नेताको समर्थन कि बिरोध गरेको हो ? पत्तै भएन ।’

‘हावा कुरालाई सम्वन्धित टेलिभिजन बाहेक अन्य संचार माध्यमले किन निरन्तर प्रचार गरिरहेका छन् ?,’ उनले प्रश्न गर्दै भनेका छन् ।

नेता विश्वकर्माले सभापति शेरबहादुर देउवा र पार्टी कार्यालय जलाउन जाने मान्छे कांग्रेसकै अनुहार देखिनु अचम्म लागेको भनेर टिभी टुडे टेलिभिजनसँगको अन्तर्वार्तामा बोलेको अभिव्यक्तिलाई गगन निकटका व्यक्तिहरूले गगन थापाले नै शेरबहादुर देउवा र पार्टी कार्यालय जलाउन मान्छे पठाएको भनेर प्रचारबाजी गरेपछि नेता विश्वकर्माले आपत्ति जनाएका हुन् ।

‘२०८२ भाद्र २४ को घटना, सभापति देउवा निवासमा आक्रमण र आगजनी गर्न कस्ले मान्छे पठाएको हो भन्ने विषयमा गगन थापाले पठाएको भनि मैलै भने भनेर सामाजिक संजाल र प्रतिष्ठित टेलिभिजनका प्रस्तोताले समेत मेरो नाम लिएको हेरे, सुने र पढे,’ नेता विश्वकर्माले भने, ‘आफैलाई आश्चर्य लागेको छ । आखिर यो सब किन ?’

‘मैलै टिभी टुडेको अन्तर्वातामा नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा र पार्टी सभापति शेरबहादुर देउवा निवास जलाउन जाने कांग्रेसकै मान्छे पनि देखिनु अचम्म लागेको छ भनेको छु,’ नेता विश्वकर्माले भने ।

‘मैले बोलेको यतिसम्मको आवश्यक प्रमाण फोटो भिडियो पनि छन्,’ उनले भने, ‘आवश्यक परे सार्वजनिक पनि गरौँला ।’

नेता विश्वकर्माले एउटा लोककथा सुनाउँदै भने, ‘यस्तो घटना हुँदा पहिले २०४६ सालको आन्दोलनमा प्रहरीले पक्राउ गरि बयान लिँदाको याद आयो । २०४६ एक दिन धरानको महेन्द्र क्याम्पसबाट हाम्रो साथीलाई राजनीति गरेको, निरंकुस राजतन्त्र मुर्दावाद भनि राजतन्त्रविरूद्द नारा लगाएको आरोपमा प्रहरीले पक्राउ ग¥यो ।’

‘कष्टडीमा राखेर ईन्सपेक्टरले कुट्दै सोधेछन्, हाम्रो राजतन्न्त्रविरूद्द किन नारा लगाको ? हाम्रो राजालाई किन निरंकुस भनेको ?,’ विश्वकर्माले भने, ‘साथीले प्रहरीको पिटाईबाट बच्न हात जोडेर मैले नेपालको राजालाई भनेको होइन भनेछन् ।’

विश्वकर्माले भने, ‘प्रहरी ईन्सपेक्टरले फेरि कड्कीदै सोधेछन्– कहाँको राजालाई भनेको त ? साथीले अत्तालिंदै भुटानको राजालाई भनेको सर ! भनेछन् !’

‘ईन्सपेक्टरले फेरि एक लात्ति हान्दै मलाई सिकाउँछस् ? नेपालको राजा निरंकुस छ कि भुटानको ? मलाई झुट बोल्ने भन्दै साथीलाई थुनामै राखेछन्,’ नेता विश्वकर्माले भने ।

‘समर्थन र विरोध गर्न नि विवेक पु¥याउनु पर्छ । नत्र त्यही पञ्चायतको ईन्सपेक्टर भइएला ! ख्याल गरौँ है,’ नेता विश्वकर्माले भने ।

Published : Sunday, 2026 August 9, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया