देउवालाई स्वागतका लागि उपस्थित हुन आग्रह, अदालतको प्रक्रियाले पार्टी विभाजन टरेको छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा बृहत एकताका लागि पहल नगरेको हुनाले आफूहरूले राष्ट्रिय भेला गर्न लागेको बताएका छन् ।

शनिबार काठमाडौंमा नुवाकोट कांग्रेसले आयोजना गरेको कार्यक्रममा डा.महतले साउन २९, ३० र ३१ गतेको राष्ट्रिय भेलामा सहभागी भइ बृहत एकताका लागि दवाव सिर्जना गर्न आग्रह गरे । उनले पार्टी विभाजन गर्न नभइ पार्टीभित्र बृहत एकताका लागि राष्ट्रिय भेला गर्न लागेको बताए ।

डा.महतले भने, ‘आत्मासहितको पार्टी निर्माण गर्न राष्ट्रिय भेलाले मद्दत पुग्छ ।’ उनले पार्टीको विचार र नीति तथा कार्यक्रमलाई भुल्ने कार्य भएको बताए ।

साउन २९ गतेको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई खुलास्थानमा गर्न ठाउँको खोजी भइरहेको नेता डा.महतले बताए । सर्वोच्च अदालतले आफै फैसलालाई पुनरावलोकन गर्ने निर्णय गरेपछि कांग्रेसको राष्ट्रिय भेलामा धेरै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने बताए ।

डा.महतले पार्टीको महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षलाई समेट्ने संरचना आवश्यक रहेको बताए । उनले पार्टीमा एकलौटी निर्णय हुने आशंका अन्त्य गर्न निष्पक्ष संरचना आवश्यक रहेको बताए । सभापतिले निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता टुङ्ग्याउने समिति तथा विधान समितिलगायत संरचनामा सबै पक्षको सन्तुलन कायम गर्ने विगतको अभ्यासले आशंका घटाउने उनले बताए ।

उनले भने, ‘हामीलाई अहिले त्यो पनि चाहिएन, एउटा निष्पक्ष संरचना मात्र चाहिएको हो, जसले निष्पक्ष अधिवेशन गराओस् ।’ उनले निर्वाचनसम्बन्धी निर्णयमा सम्बन्धित पक्षलाई सुनुवाइको अवसर सुनिश्चित हुनुपर्ने बताएका छन् । एक पक्षले नयाँ सूची पठाएर त्यसकै आधारमा निर्वाचन परिणाम घोषणा गर्ने अवस्था आएमा त्यसविरुद्ध सुनुवाइ गर्ने ठाउँसमेत नहुने उनले बताए ।

कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउँदै आएको भन्दै पार्टी विभाजन गर्न खोजेको भन्ने प्रचारमा सत्यता नरहेको डा.महतले बताए । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूहरूलाई पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै नियोजित प्रचार भइरहेको उनले बताए । डा.महतले अदालतको निर्णयलाई आफूहरूलाई चित्त नबुझे पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘पुनरावलोकनको बाटोमा हामी पनि गयौँ । प्रधानन्यायाधीशकै अध्यक्षताको ३ सदस्यीय बेन्चले पुनरावलोकन निर्णय गरेको छ । असाधारण अवस्थामा मात्रै गर्छ। कानूनी सिद्धान्त र अरू त्रुटिपूर्ण निर्णयलाई त्रुटिपूर्ण निर्णय गरेको अवस्थामा पुनरावलोकन हुन्छ, नत्र हुँदैन ।’

नेता डा.महतले निर्वाचन आयोगले सम्बन्धित पक्षलाई लिखित बोलाउनुपर्ने भएपनि एकपक्षको कुरा सुनेर निर्णय गरेको बताए । उनले भने, ‘प्रधानन्यायाधीशकै अध्यक्षताको इजलासले समस्या देखायो । अदालती प्रक्रियासँगै हामीले २९ गते भेला राखेका छौँ । कांग्रेसकै विचार हामी बोक्ने हो । यसअघि पार्टीभित्रको विवाद समाधानका लागि निर्वाचन कमिटी वा संयन्त्र बनाउने तथा दुईवटा कमिटीको समायोजन गर्नेलगायत विषयमा सहमतिको प्रयास भए पनि त्यसले मूर्त रूप लिन सकेन ।’

व्यक्तिगत रूपमा संवाद भए पनि समग्र समस्याको समाधान नभएपछि आफूहरू सामूहिक रूपमा अघि बढ्न बाध्य भएको उनले बताए । डा.महतले २९, ३० र ३१ गते हुने भेलालाई पार्टीको वैचारिक तथा साङ्गठनिक विषयमा छलफल गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । पार्टीको विचार, सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आएको विचलन, आर्थिक अवस्था, सरकारका काम, सङ्गठन सञ्चालन, विधान तथा विधान संशोधनलगायत विषयमा भेलामा छलफल हुने उनले बताए ।

अदालतको पछिल्लो प्रक्रियाले तत्काल पार्टी विभाजन हुने सम्भावना टरेको बताएका छन् । अदालतले कांग्रेसको नेतृत्वसम्बन्धी विषयमा अन्तिम निर्णय गर्ने भएकाले अर्को बाटोमा जाने सम्भावना तत्काल रोकिएको उनले बताए ।

उनले भने, ‘अब अदालतले कांग्रेसको नेतृत्व को हुने भन्नेबारे अन्तिम निर्णय गर्ने भएको हुनाले अर्को बाटो जाने कुरा अहिले रोकिएको छ। यसले न्याय पाउने बाटो पनि खुला गरेको छ । अदालतको निर्णयबाट १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व पुनर्बहाली भए पनि र विशेष महाधिवेशनबाट आएको नेतृत्व रहे पनि सबैलाई समेटेर आगामी महाधिवेशन गर्ने सम्भावना खुला हुनेछ ।’

अदालतको अन्तिम निर्णयअघि नै पार्टीभित्र सहमति कायम गर्ने अवसरसमेत प्राप्त भएको उनले बताए । देशभरका कांग्रेस कार्यकर्तालाई २९ गतेको भेलामा सहभागी हुन आग्रह गरेका छन् । उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको भन्दै कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुन आग्रह गरेका छन् । देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसो आउने समय मिलाउने प्रयास भइरहेको डा.महतले बताए ।

Published : Saturday, 2026 August 8, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया