सानेपाको हर्कतले जर्मनीका कांग्रेसीहरू निष्क्रिय, माल्टामा पनि खैलाबैला, मोक्तान र टाइगर नियुक्तिको आधार माग
ह्यामबर्ग । नेपाली कांग्रेसको हालको नेतृत्वले विधि, विधान, संगठनात्मक योगदान र आन्तरिक लोकतन्त्रलाई बेवास्ता गर्दै व्यक्तिगत निकटता तथा गुटगत पक्षधरताका आधारमा जिम्मेवारी बाँडेको आरोप लागेको छ ।
नेपाली जनसम्पर्क समिति जर्मनी र माल्टासम्बन्धी पछिल्ला निर्णयलाई लिएर युरोपस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नेतृत्वसँग जवाफ मागेका छन् ।
विशेष महाधिवेशनप्रति असहमति रहे पनि सर्वोच्च अदालतले त्यसबाट आएको केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएपछि शिखर खड्का नेतृत्वको नेपाली जनसम्पर्क समिति जर्मनीले केन्द्रको परिपत्रानुसार अधिवेशन प्रक्रिया अगाडि बढाइरहेको थियो । समितिका महामन्त्री सिजन दाहालका अनुसार कार्यसमिति सकेसम्म छिटो अधिवेशन सम्पन्न गर्ने तयारीमा थियो ।
अधिवेशनको तयारी भइरहेकै अवस्थामा निर्वाचित कार्यसमितिको कार्यकारी अधिकार खोसेर विजय मोक्तानलाई संयोजक नियुक्त गरिएको भन्दै असन्तुष्टि व्यक्त भएको छ । स्पष्ट कारण, पर्याप्त सुनुवाइ र विधिसम्मत प्रक्रियाबिनै निर्वाचित समिति निष्क्रिय बनाइएको भए त्यो पार्टी विधान र आन्तरिक लोकतन्त्रको मर्मविपरीत हुने आलोचकहरूको भनाइ छ ।
दाहालले पनि उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यसले अधिवेशन प्रक्रिया अगाडि बढिरहेको अवस्थामा निर्वाचित समिति किन निष्क्रिय बनाइयो र नयाँ संयोजक नियुक्त गर्नुपर्ने परिस्थिति कसरी उत्पन्न भयो भन्ने प्रश्न खडा गरेको छ ।
त्यस्तै, माल्टामा हुने नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि शिव अधिकारी ‘टाइगर’लाई केन्द्रीय प्रतिनिधि, पर्यवेक्षक नियुक्त गरिएको विषयमा पनि प्रश्न उठेको छ । युरोपस्थित असन्तुष्ट कांग्रेसजनका अनुसार अधिकारी यसअघि कुनै पनि देशको नेपाली जनसम्पर्क समितिमा औपचारिक जिम्मेवारीमा रहेर काम गरेको वा कांग्रेस तथा जनसम्पर्क समितिको संगठन निर्माणमा उल्लेखनीय योगदान दिएको विवरण सार्वजनिक रूपमा देखिएको छैन ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेको हालैको युरोप भ्रमणमा सहयोग गरेपछि अधिकारीले उक्त जिम्मेवारी पाएको भन्दै आलोचना भइरहेका छन् । तर, भ्रमणमा सहयोग गरेकै कारण नियुक्ति दिइएको भन्ने दाबी पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन ।
प्रवक्ता चालिसेले कांग्रेसको विधान विपरीतका गतिविधि गरेपछि कथित विशेष महाधिवेशनबाटै आएको कार्यसमितिका अधिकांश नेताहरू समेत सन्तुष्ट छैनन् । अधिकारीलाई कुन योग्यता, अनुभव र संगठनात्मक योगदानका आधारमा छनोट गरियो भन्ने कुरा केन्द्रीय नेतृत्वले पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने युरोपस्थित कांग्रेसजनको माग छ ।
असन्तुष्ट पक्षले सामाजिक सञ्जालमा संगठित समूह परिचालन गरी नेतृत्वका आलोचकलाई बदनाम गर्ने र कृत्रिम समर्थन देखाउने प्रवृत्तिसमेत बढेको आरोप लगाएको छ । फरक विचारलाई दबाउने तथा योग्यता र योगदानभन्दा व्यक्तिगत निकटतालाई प्राथमिकता दिने कार्यशैलीले तत्काल नेतृत्वलाई बलियो देखाए पनि दीर्घकालमा पार्टीको आन्तरिक लोकतन्त्र, कार्यकर्ताको मनोबल र संगठनात्मक भविष्य कमजोर बनाउने उनीहरूको चेतावनी छ ।
‘नेपाली कांग्रेस कुनै व्यक्ति वा गुटको निजी संस्था होइन,’ असन्तुष्ट कांग्रेस नेताहरूले भने, ‘विवादित निर्णयको वैधानिक आधार, प्रतिनिधि छनोटको मापदण्ड र निर्वाचित समिति निष्क्रिय बनाउनुको कारण नेतृत्वले सार्वजनिक गर्नुपर्छ ।’
भृकुटीमण्डप भेलालाई कथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेस ‘हाइज्याक’ गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेपछि पार्टीभित्र ठूलो विवाद छ । कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा गगनले पु¥याएका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगनले बैधानिकता पाए पनि सो फैसलाको पुनरावलोकन हुनेछ । पुनरावलोकनका क्रममा जे पनि फैसला हुनेछ ।
जर्मनीसहित युरोपका देशहरूको भ्रमणका क्रममा प्रवक्ता चालिसेले भाँडभैलो मच्चाएर आएपछि सानेपाबाट विधि र पद्धति विपरीतका कार्य गरेको आरोप छ । कथित विशेष महाधिवेशनका कारण कांग्रेस विभाजित अवस्थामा छ । यस्तो अवस्थामा कांग्रेसलाई मिलाएर लैजाने बेला सानेपामा बसेर चालिसेसहितका नेताहरूले गलत निर्णय गर्दा विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको मन भाँच्चिएको छ । सानेपामा बसेका ‘मठाधिस’हरूको गतिविधि र हर्कतमा सुधार भएन भने प्रवासमा रहेका कांग्रेसको जनसम्पर्क समितिहरूमा पहिलो जाने सम्भावना छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया