नर्सहरूको माग पूरा गर्ने लिखित सहमतिपछि ज्योतिको अनशन तोडियो, झुक्यो सरकार

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधार र नर्सहरूको सेवा सुविधानको माग गरेर आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटले अनशन तोडेकी छिन् ।

सरकारसँग १९ बुँदे सहमति भएपछि रानाभाटले अनशन तोडेकी हुन् । रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन शुरु गरेकी थिइन् । नर्सहरूको माग समक्ष झण्डै दुईतिहाइको रास्वपाको सरकार झुकेको छ । नर्सहरूको जित भएको छ ।

सरकारकातर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानून अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका साथै प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाललगायत अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिको रोहबरमा सहमति गरेर रानाभाटले अनशन तोडेकी हुन ।

सहमतिअनुसार नर्स तथा मिडवाइफलगायत स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सम्मानजनक सेवा सुविधा निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले ७ दिनभित्र कार्यदल गठन गर्नेछ ।

कार्यदलले कम्तिमा ६ महिनाभित्र काम सक्नुपर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

रानाभाटले सेवा सुविधाका साथै भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा–सुविधा तथा सुरक्षित स्वास्थ्य प्रणाली निर्माणको माग अघि सारेकी थिइन् ।

Published : Wednesday, 2026 August 5, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया