सुनसरी घटनाका घाइते रविन्द्रको पनि मृत्यु, कप्तानगञ्जमा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा घटनामा घाइते भएका वर्ष २१ वर्षीय रविन्द्रकुमार मेहताको पनि मृत्यु भएको छ ।

दुई समूहको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर रविन्द्र घाइते भएका थिए । रविन्द्रको मृत्यु भएपछि कप्तानगञ्जमा घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

साउन १० गते राति सुरक्षार्कीले चलाएको गोली लागेर घाइते भएका रविन्द्रको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले बताएका छन् । मल्लले आफूले पनि रविन्द्रकुमार मेहताको मृत्यु भएको खबर सुनेको र थप विवरण आइनसकेको बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवम् डीआईजी अबिनारायण काफ्लेले पनि सुनसरी घटनाका घाइते रविन्द्रकुमार मेहताको मृत्यु भएको बताए ।

घाइतेमध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा सुरक्षाकर्मीले गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो ।

बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रविन्द्रलाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल ल्याइएको थियो । टिचिङमा उपचारका क्रममा रविन्द्रको बायाँ खुट्टा काटिएको थियो ।

सुनसरी र सिरहा गरेर चार जनाको मृत्यु भएको छ । कप्तानगञ्जमा मात्रै ३ जनाको मृत्यु भएको छ ।

Published : Tuesday, 2026 August 4, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया