‘माया भनेकै यस्तो होला’को शीर्ष गीत रिलिज, भदौ २६ मा प्रदर्शन
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतले दिल श्रेष्ठसँग सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको प्रेमिल केमेस्ट्री प्रस्तुत गर्दै चलचित्रको प्रेमकथाको झलक दिएको छ । चलचित्र भदौ २६ गते अर्थात् सेप्टेम्बर ११ बाट प्रदर्शनमा आउनेछ ।
एकै नजरमा सुरु हुने आकर्षण, त्यसपछि मनमा बन्ने प्रेमको संसार र भावी जीवनबारे गरिने कल्पनालाई गीतको मूल विषय बनाइएको छ । सुन्दर युवतीलाई देखेपछि युवकको मनमा उठ्ने भावना र उसले बुन्ने रोमान्टिक सपनालाई भिडियोमा रंगीन शैलीमा प्रस्तुत गरिएको छ ।
गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । प्रशान्तसँगै विज्ञानी पराजुलीले स्वर दिएकी छिन् । प्रेमिल शब्द, हल्का रोमान्टिक संगीत र आकर्षक दृश्य संयोजनमार्फत गीतलाई चलचित्रको कथाभावसँग जोड्ने प्रयास गरिएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा नायक दिल श्रेष्ठ प्रमुख आकर्षणका रूपमा देखिएका छन् । उनीसँग पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहलाई फरक–फरक प्रेमिल परिवेशमा प्रस्तुत गरिएको छ ।
गीतका दृश्यले एक युवक र तीन युवतीबीचको आकर्षणलाई कथाको प्रमुख ‘हुक’ बनाएको संकेत गर्छ । चलचित्रको वास्तविक सम्बन्ध संरचना र द्वन्द्वबारे निर्माण पक्षले विस्तृत कथा सार्वजनिक गरिसकेको छैन । शीर्ष गीतले भने प्रेम, आकर्षण, कल्पना र सम्बन्धको अन्योल चलचित्रको कथामा महत्वपूर्ण रहने संकेत दिएको छ ।
‘दिया एन्ड अमु फिल्म्स’को ब्यानरमा बनेको चलचित्रमा नेपाली कला क्षेत्रका अनुभवी कलाकारदेखि वर्तमान पुस्ताका चर्चित अनुहारसम्मको अभिनय छ ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँगै दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह प्रमुख भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकार पनि विभिन्न भूमिकामा देखिनेछन् ।
ध्रुव लम्सालको पटकथा रहेको चलचित्रले प्रेमकथाका माध्यमबाट सामाजिक भावना र सम्बन्धका फरक आयाम प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।
चलचित्रका निर्माता हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । सुदीप बरालले छायांकन गरेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन् ।
प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा सुजेनी मल्लको पहिरन डिजाइन, प्रिया कार्कीको मेकअप र सुमन तिवारीको निर्माण व्यवस्थापन छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया