काठमाडौंमा ४ करोड ५२ लाख ठगी गर्ने चेकवाला ‘नटवरलाल’ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ४ करोड ५२ लाख ठगी कसूरमा फरार प्रतिवादी ३४ वर्षीय सन्तोष प्रधानलाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले प्रधानलाई काठमाडौंको गौशालाबाट शुक्रबार पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा पीडितहरूले प्रधानविरुद्ध प्रहरीका ६ स्थानमा ४ करोड ५२ लाख ८४ हजार ९ सय ३६ रुपियाँको मुद्दाहरू दर्ता गराएका थिए ।

खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ तेज विनायक बस्दै आएका प्रधान फरार रहेका थिए ।

ललितपुर जिल्ला अदालतले २०८२ कात्तिक १३ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै दुई दिन कैद सजाय र दश लाखको पाँच प्रतिशतले हुने ५० हजार जरिवाना हुने ठहर फैसला गरेको थियो । फैसला भएपछि प्रधान फरार रहेका थिए ।

प्रधानविरुद्ध जिल्ला प्रहरी परिस, ललितपुरमा १० लाख, प्रहरी बृत्त काठमाडौंमा ९ लाख, प्रहरी बृत्त नयाँ बानेश्वरमा ५ लाख, जिल्ला प्रहरी परिसर भक्तपुरमा ९ लाख, प्रहरी बृत्त जनसेवामा १ करोड २५ लाख ४२ हजार ९ सय ३६ र प्रहरी बृत्त जनसेवामै २ करोड ९४ लाख ४२ हजार रुपियाँ को बैंकिङ कसूर र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूर मुद्दामा मुद्दाहरू दर्ता भएका थिए ।

Published : Saturday, 2026 August 1, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया