ओखलढुङ्गा र कपिलवस्तुका दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका २८ वर्षीय प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तुको शिवराज नगरपालिका–१ घर भएकी २४ वर्षीया कविता वेल्वासे रहेका छन् ।

पक्राउमध्ये प्रदीपले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपियाँ र कविताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले प्रदीपलाई काठमाडौं महानगरपालिका–३ बाट आइतबार र कवितालाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2026 July 21, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया