अख्तियारद्वारा नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेल ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रूपियाँ राजस्व हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

आर्थिक वर्ष २०७६÷७७ का लागि समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले ३ करोड २५ लाख रूपियाँमा सकार गरेको थियो । सम्झौताअनुसार तोकिएको रकम एकमुष्ट दाखिला नगरी केवल १ करोड ९ लाख ६३ हजार रूपियाँ मात्रै बुझाइएको थियो ।

बाँकी २ करोड १५ लाख ३७ हजार रूपियाँ तथा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको ४२ लाख २५ हजार रूपियाँ गरी कूल २ करोड ५७ लाख ६२ हजार रूपियाँ नबुझाई नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई नोक्सानी पु¥याइएको आयोगको आरोप छ ।

मुद्दा दायर गरिएका प्रतिवादीमा गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र त्यसका मुख्य सञ्चालक राधेश्याम साह रहेका छन् ।

अनुसन्धानका क्रममा बोलपत्रको सर्तविपरीत रकम पूर्ण रूपमा दाखिला नभई सम्झौता गरिएको, रकम दाखिला भइसकेको भन्दै झुटो टिप्पणी तयार गरी नगर प्रमुखबाट स्वीकृत गराइएको र त्यसका आधारमा एक महिनाका लागि अस्थायी चलनपुर्जी जारी गरी ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न दिइएको आयोगले जनाएको छ । यसबाट ठेकेदार कम्पनीले ३ करोड ३२ लाख ६९ हजार ७ सय ८९ रूपियाँ ५८ पैसा बराबरको गैरकानूनी लाभ लिएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले नगर प्रमुख यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद, बिगोको दोब्बर जरिवाना तथा सार्वजनिक पदमा रहेका व्यक्तिका लागि हुने थप सजायको माग गरेको छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर र राजस्व शाखा प्रमुख रायविरुद्ध पनि सोही ऐनअन्तर्गत कैद, दोब्बर जरिवाना तथा झुटो प्रतिवेदन दिएको कसुरमा थप सजाय माग गरिएको छ ।

यस्तै, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र त्यसका मुख्य सञ्चालक राधेश्याम साहलाई मुख्य कसूरदारको मतियार बनेर गैरकानूनी लाभ लिएको आरोपमा मुख्य कसूरदारसरह कैद र जरिवाना हुनुपर्ने मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।

Published : Tuesday, 2026 July 7, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया