आईजीपी कार्की न्यूयोर्क प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्क, अमेरिका प्रस्थान गरेका छन् ।

आइतबार आईजीपी कार्की अमेरिका प्रस्थान गरेका हुन् । असार २३ र २४ गते दुई दिन संचालन हुने पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा कार्की सहभागी हुने कार्यक्रम रहेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।

समिटमा संयुक्त राष्ट्र प्रहरीको भविष्यको बारेमा चिन्तन, नयाँ प्रविधिहरूको उपयोग, अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरण, भाषा प्रशिक्षण मार्फत संयुक्त राष्ट्र शान्ति स्थापनालाई सुदृढीकरण, लैङ्गिक उत्तरदायी प्रहरी सेवामा उच्च स्तरीय सञ्जाल लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।

आईजीपी कार्कीले संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब ईमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

आईजीपी कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

Published : Sunday, 2026 July 5, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया