मोडल हन्टका लागि ४२ प्रतियोगी छनौट

काठमाडौं । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् ।

प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।

प्रतियोगिताको यो १०औँ सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

छानिएका प्रतियोगीहरू एक महिनाको प्रशिक्षणसहित फाइनलको तयारीमा लाग्नेछन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगितामा विजेताले ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगिताको फाइनल २४ जुलाई अर्थात साउन ८ गते आयोजना हुनेछ ।

Published : Sunday, 2026 July 5, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया