जगदुल्लामा हिलोसहितको बाढी गाउँमा प्रवेश, १ जनाको मृत्यु, ४ जना घाइते

जगदुल्ला । डोल्पा जिल्लामा अविरल वर्षापछि धुलाखोलामा हिलोसहित आएको बाढीले घरहरू पुरिँदा १ जनाको मृत्यु भएको छभने केही घरहरूमा क्षति पुगेको छ ।

आइतबार बिहान ३ बजेतिर जगदुल्ला गाउँपालिका वडा नं. ५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिएर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ । बाढीमा परेर चार जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५५ वर्षीया आनन्दा बि.क. रहेको प्रहरी समाचार कक्ष, नक्सालको सूचनामा उल्लेख छ ।

हिलो र लेदोसहित आएको बाढी घरहरूमा पस्दा आनन्दा बि.क. घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा ६० वर्षीया जस बि.क., ४४ वर्षीया रेउली बि.क., १५ वर्षीया निरुता बि.क. र १३ वर्षीया सीता बि.क. घाइते भएका छन् । घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेको छ । रेउलीलाई थप उपचारका लागि रिफर गरिएको छ । अन्य तीन जना घाइतेहरू उपचारपछि डिस्चार्ज भएका छन् ।

मृतकका आफन्त ३२ वर्षीया जुनमाया बि.क. र २९ वर्षीय दुर्गे बि.क. घटनाको तनावका कारण बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भीक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आठ घरमा आंशिक क्षति पुगेका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरीकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ । प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन तथा घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2026 July 5, 9:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया