प्रहरीलाई अमेरिकी दूतावासद्वारा डिजिटल फरेन्सिक उपकरण हस्तान्तरण

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरेको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उपकरणहरू हस्तान्तरण गरिएको हो ।

आईजीपी कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको बताए । यस किसिमका सहयोगहरू दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको बताए ।

आईजीपी कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने बताए । उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ति, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने उनले बताए ।

यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने आईजीपी कार्कीले बताए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने बताए । अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पु¥याउने उनले बताए ।

Published : Tuesday, 2026 June 30, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया