एमाले उपाध्यक्ष पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालत, काठमाडौंले पूर्वमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप गरेको छ ।

सोमबार प्रहरीले पौडेललाई म्याद थप प्रयोजनका लागि विशेष अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ३ दिन थुनामा राख्न म्याद थप गरेको छ ।

पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । पौडेलका कानून व्यवसायी समेत रहेका विशेष अदालत बारका अध्यक्ष टीका कुँवरले दुईतर्फी बहस सकिएपछि इजलासबाट तीन दिन थुना म्याद थप्न आदेश भएको जानकारी दिएका छन् ।

अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ । यसअघि पौडेललाई गत असार ९ गते ७ दिन थुना म्याद थपिएको थियो । पौडेलकी पत्नी दोमाया पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विभाग र प्रहरीसँग लिखित जवाफ माग गरेको छ ।

Published : Monday, 2026 June 29, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया