रास्वपा उपसभापतिमा सोविता विजयी, तोसिमाको लज्जास्पद पराजय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छिन् ।

शुक्रबार भरतपुरमा सम्पन्न पदाधिकारीहरूको मतगणनामा गौतम उपसभापति पदमा निर्वाचित भएकी हुन् । गौतमसँग उपसभापति पदकी उम्मेदवार डा.तोसिमा कार्की पराजित भएकी छिन् ।

उपसभापति भएकी गौतम प्रतिनिधि सभा सांसद र कानूनमन्त्री पनि छिन् । उनी यसअघि पार्टी सचिवालय सदस्य थिइन् ।

रास्वपामा ३ जना उपसभापति रहने व्यवस्था छ । त्यसमध्ये उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन् । एक जना उपसभापति मनोनीत गर्न बाँकी छ ।

त्यसैगरी, रास्वपाको सहमहामन्त्री पदमा हरि ढकाल र असिम साह विजयी भएका छन् । निर्वाचनमा सहमहामन्त्री खुलातर्फ ढकाल र साह विजयी भएका हुन् ।

ढकाल प्रतिनिधि सभा सांसद छन् भने साह प्रधानमन्त्री बालेन शाहको राजनीतिक सल्लाहकार हुन् । साह यसअघि समानुपातिक सांसद थिए ।

रास्वपाको सहमहामन्त्रीमा निशा डाँगी पनि विजयी भएकी छिन् । सहमहामन्त्री पदमा डाँगी विजयी भएकी हुन् । उनले ७३७ मत प्राप्त गरेकी छन् ।

रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ । एक महिलासहित ३ पदमा निर्वाचन भएको हो । बाँकी दुई पद सभापतिले मनोनीत गर्ने व्यवस्था छ । ३ सहमहामन्त्री पदमा १५ जना उम्मेदवार थिए ।

Published : Friday, 2026 June 26, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया