राप्तीका अध्यक्षको फेसबुकबाट कृषि कार्यक्रमको सूचना, पालिकाकै नाम छैन

मसुरिया । राप्ती गाउँपालिकासम्बन्धी कृषि कार्यक्रमको सूचना आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको विषय विवादमा परेको छ ।

स्थानीय तहबाट आधिकारिक रूपमा जारी हुनुपर्ने सूचना गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको व्यक्तिगत फेसबुक खाताबाट प्रकाशित गर्दै ‘थप जानकारीका लागि गाउँपालिकामा सम्पर्क गर्न’ भनिएको छ । सार्वजनिक निकायको सूचना व्यक्तिगत सामाजिक सञ्जालबाट प्रवाह गर्नु कति उपयुक्त हो भन्ने विषयमा स्थानीयस्तरमा प्रश्न उठेका छन् । सूचना प्रकाशित गर्ने नै हो भने प्रक्रिया पूर्‍याएर गर्नुपर्छ ।

राप्ती गाउँपालिकाको सूचना व्यक्तिगत फेसबुकमार्फत प्रवाह गर्ने प्रवृत्ति, सञ्चित बजेट खर्चको उपलब्धिबारे स्पष्ट जवाफ नआउनु, यी सबै विषयले स्थानीय तहको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।

प्रश्न उठाउनु विरोध होइन, सार्वजनिक स्रोत र अधिकारको जिम्मेवार उपयोगबारे जवाफ खोज्नु हो ।

अध्यक्ष विष्टले आफ्नै तस्बिर राखेर प्रचार सामग्री बनाएका छन् । प्रचार सामग्रीमा गाउँपालिकाको नाम उल्लेख गरेका छैनन् । तर, विष्टले गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्न भनेर लेखेका छन् ।

गाउँपालिकाको कार्यक्रम हो भने गाउँपालिकाको नाम प्रचार सामग्रीमा किन छुट्यो ? किन कृषि शाखामा सम्पर्क गर्न भनियो ? विष्टको गतिविधि र नियतमाथि गाउँपालिकाका जनप्रतिनिधिहरूले गम्भीर आशंका गरेका छन् । कृषि कार्यक्रम राप्ती गाउँपालिकाको हो कि अध्यक्ष विष्टको आफ्नो व्यक्तिगत वा एनजीओको कार्यक्रम हो ? केही खुलेको छैन ।

Published : Saturday, 2026 June 20, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया