शक्तिको आडमा गरिने प्रतिशोध, दम्भ अन्ततः आफ्नै ढोकामा फर्केर आउँछ : कांग्रेस नेता पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका नेता रोशन पाण्डेले शक्ति, सत्ता र त्यसको उन्माद सधैं स्थायी नहुने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता पाण्डेले भने, ‘पहिलो संविधानसभा चुनावपछि माओवादी ठूलो शक्ति बन्यो । त्यसबेला केही नेताका आफन्त र छोराछोरीहरूलाई राज्य नै आफूहरूको निजी सम्पत्ति जस्तो लागेको थियो ।’

‘दीपेश पुन, प्रतीक थापा लगाएतले आफूलाई श्री ३ नै घोषणा गरे,’ नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका कांग्रेस नेता पाण्डेले भने, ‘प्रहरीदेखि प्रशासनसम्म आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति देखियो । समय फेरियो, शक्ति फेरियो, अवस्था फेरियो ।’

उनले भने, ‘त्यसपछि सत्ता नेपाली कांग्रेसतिर ढल्यो । शेरबहादुर देउवाको वरिपरी घुम्ने आश्रितहरूले विभिन्न नाममा फाइदा खानेहरूलाई पनि शक्ति कहिल्यै नढल्ने भ्रम थियो ।’

‘आज अवस्था यस्तो बनेको छ कि हिजो शक्तिको उन्मादमा रमाएकाहरू आज बचाउन त परको कुरो विचरा भन्नसमेत कोही तयार छैन । यही नै हो राजनीतिको कठोर सत्य,’ उनले भने ।

‘सत्ताको घमण्ड, शक्तिको उन्माद र पहुँचको दुरुपयोग कसैका लागि पनि स्थायी हुँदैन,’ नेता पाण्डेले भने, ‘आज अरूलाई अन्यायपूर्वक पेल्नेहरूले भोलि त्यही पीडा आफैंले पनि भोग्नुपर्ने दिन आउन सक्छ ।’

नेता पाण्डेले भने, ‘कानूनी कारबाही आफ्नो ठाउँमा छ । शक्ति र पहुँचको आडमा गरिने प्रतिशोध र दम्भ अन्ततः आफ्नै ढोकामा फर्केर आउँछ । त्यसैले अरूलाई त्यति मात्र दबाऊ, जति दबाब आफूले पनि सहन सकिन्छ ।’

‘इतिहासले बारम्बार सिकाएको पाठ यही हो— शक्ति बदलिन्छ, समय बदलिन्छ, तर घमण्डको अन्त्य सधैं पीडादायी हुन्छ । जय देश,’ नेता पाण्डेले भने ।

Published : Thursday, 2026 June 18, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया