बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदीपकुमार गौतम र काठमाडौंको कीर्तिपुर नगरपालिका–३ बस्ने धादिङ घर भएका ६५ वर्षीय रामकुमार थापा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत, ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसूर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदीपलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ महादेवस्थानबाट पक्राउ गरेको छ ।

सोही मुद्दामा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका रामकुमारलाई कीर्तिपुर नगरपालिका–३ बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमध्ये प्रदीपलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ । रामकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सुनसरी जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

Published : Friday, 2026 June 12, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया