डीआईजी रानाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यसम्पादनमा देशकै उत्कृष्ट
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी देशकै उत्कृष्ट बनेको छ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाको नेतृत्वमा कार्यालयले अर्धवार्षिकतर्फ ८०.२१ प्रतिशत र ९ महिनाको मूल्यांकनमा ८५.११ प्रतिशत अंक प्राप्त गरेको छ । सोही अंकको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले पहिलो स्थान हासिल गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
फैसला कार्यान्वयन अभियान अन्तर्गत अदालतबाट विभिन्न समयमा कैद सजाय तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीमध्ये ४०.१० प्रतिशत पक्राउ गरेको छ । कुल ३ हजार ८ सय ९२ फरार प्रतिवादीमध्ये १ हजार ५ सय ६१ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाँकी फरारको खोजतलास कार्य जारी रहेको छ ।
सिमानाकाबाट हुने भन्सार छली, चोरी निकासी तथा पैठारी नियन्त्रणतर्फ प्रहरीले ११ करोड १६ लाख ५६ हजार ५ सय ४० रुपियाँ बराबरका निर्माण सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक सामान तथा सवारी साधन बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभर पछिल्ला तीन आर्थिक वर्षको दुर्घटना तथा मृत्यु दर विश्लेषण गरी ४७ वटा ‘ब्ल्याक स्पट’ पहिचान गरिएको छ । ती स्थानमा सचेतनामूलक बोर्ड राख्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन तथा आक्रामक ढङ्गले सवारी चलाउने चालकहरूमाथि कारबाहीलाई तीव्रता दिँदै प्रहरीले १० जना चालकको अनुमतिपत्र निलम्बनका लागि यातायात कार्यालयमा सिफारिस गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार ६० वटा सवारी साधनबाट २ करोड ५२ लाख ७२ हजार रुपियाँ जरिवाना संकलन गरिएको छ ।
लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १ किलो ३८९ ग्राम गाँजा, ४० किलो ७५५ ग्राम चरेस तथा १ किलो ३२२ ग्राम खैरो हिरोइन बरामद गरेको छ । लागुऔषध सेवन, ओसारपसार तथा बिक्री वितरणमा संलग्न ८ सय ७६ जनालाई पक्राउ गरी ५ सय ६६ वटा मुद्दा दर्ता गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत लागुऔषध, साइबर सचेतना, घरेलु हिंसा, लैङ्गिक हिंसा, आत्महत्या रोकथाम, छाउपडी प्रथा तथा बालविवाह नियन्त्रणलगायत विषयमा ९ हजार ४ सय ३५ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ लाख ३७ हजार १ सय ७२ जनालाई सचेत गराइएको छ ।
अवैध वन पैदावार चोरी तस्करी तथा नदीजन्य स्रोतको अवैध उत्खनन् नियन्त्रणतर्फ ६५ लाख ६ हजार ५ सय २५ रुपियाँ राजस्व संकलन गराइएको प्रहरीले जनाएको छ । २४ नाल भरुवा बन्दुक र २ थान पेस्तोल बरामद गरी कानूनी कारबाही गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा विभिन्न कारागार तथा प्रहरी हिरासतबाट फरार भएका १ हजार ४ सय ५८ कैदीबन्दी तथा थुनुवामध्ये १ हजार १ सय २२ जनालाई पुनः पक्राउ गरिएको छ ।
चालु आर्थिक वर्षमा हराइबेपत्ता भएका १ हजार ४ सय ५६ जनामध्ये १ हजार ३ सय ९० जनालाई सकुशल फेला पारेर आफन्तको जिम्मा लगाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि प्रदेशभर ४ सय १२ वटा लामो दूरीको गस्ती तथा ८४ हजार ८ सय ५ वटा छोटो दूरीको गस्ती परिचालन गरिएको छ ।
भारतबाट चोरी गरी ल्याइएका नगद, सुन, चाँदी, गरगहना तथा घडीलगायतका ३ करोड ६७ लाख ८३ हजार ९ सय ८५ रुपियाँ बराबरका बहुमूल्य सामान बरामद गरिएको छ ।
विपद् व्यवस्थापन, उद्धार तथा निगरानी कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ६ लाख ५० हजार ५ सय रुपियाँ बराबरको ड्रोन क्यामेरा प्राप्त गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि प्रहरी महानिरीक्षक र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत अर्धवार्षिक तथा ९ महिनाको मूल्याङ्कनमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंसहित सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रथम स्थान हासिल गर्न सफल भएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी स्कुल धनगढीको लागि कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं ५ स्थित पृथ्वीपुरमा २२ बिगाह १० कट्टा जमीन प्राप्तिको लागि सरोकारवाला निकायहरूसँग नियमित समन्वय गरी जग्गा प्राप्तिको अन्तिम चरणमा रहेको छ ।
नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चमपुरको हाताभित्र जिल्ला सिँचाइ कार्यालय कञ्चनपुरसँगको अन्द्रान ४० लाखका समन्वयमा डिप बोरिङ राखिएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया