प्यूठानमा मन्त्री राणाले लिए बजेटबारे कांग्रेसका वडा र पालिका सभापति तथा जनप्रतिनिधिहरूसँग सुझाव
जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानका ९ वटा पालिका र ६४ वडाका जनप्रतिनिधि तथा नेपाली कांग्रेसका वडा र पालिका सभापतिहरूसँग आर्थिक वर्ष २०८३/८४ को भावी योजनाका विषयमा रायसुझाव लिएका छन् ।
शुक्रबार प्यूठानको जुम्रीमा नेपाली कांग्रेस, प्यूठानका नेताहरूका साथै ९ वटा पालिका र ६४ वडाका सभापतिहरूसहितका जनप्रतिनिधिहरूसँग मन्त्री राणाले बजेटका विषयमा रायसुझाव लिएका हुन् । प्यूठान नगरपालिकाका उपप्रमुख समेत रहेका प्यूठान कांग्रेसका उपसभापति देवेन्द्र बर्माले प्यूठान जिल्लाको विकास योजनाहरू र प्राथमिकताका विषयमा सुझाव लिएको बताए । बर्माले भने, ‘शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाज्यूले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्यूठानको विकास तथा प्राथमिकताहरूका विषयमा ६४ वडा र ९ वटा पालिकाका जनप्रतिनिधिहरूका साथै कांग्रेसका वडा र पालिका कांग्रेसका सभापतिहरूसँग रायसुझाव लिनुभएको छ ।’
मन्त्री राणालाई वडा र पालिका सभपाति तथा जनप्रतिनिधिहरूले प्यूठाना स–साना योजनाले पार्ने तत्कालको प्रभाव र ठूला योजना जसले जिल्लाको विकासमा पार्ने प्रभावहरूका बारेमा जानकारी गराइएको छ ।
छलफलमा सहभागीहरूले मन्त्री राणाले गत वर्षको बजेटमा प्यूठान जिल्लामा राखिएका योजना र बजेटको प्रशंसा गरेका छन् । मन्त्री राणाले यस पटक पनि लुम्बिनी प्रदेश सरकारको बजेटमा प्यूठानका लागि उल्लेख्य विकास योजना ल्याउनेमा आशावादी रहेको धारणा राखेको उपप्रमुख बर्माले बताए ।

बागदुलादेखि गौमुखीसम्म र बागलुलादेखि नौबहिनी गाउँपालिकाको बहानेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रे, खवाङबेसी लगायतका क्षेत्रमा पक्की पुल, खानेपानीको अभाव भएका टोल, बस्तीहरूको लागि खानेपानी, सदरमुकाम लगायतका स्थानमा खेलमैदान तथा कभर्ड हलको निर्माण, पर्यटकीय गन्तव्यहरूको पूर्वाधार र पहुँच मार्ग निर्माणमा आवश्यक्ता लगायतका बजेट र योजनाहरूमा मन्त्री राणालाई सुझाव दिइएको उपप्रमुख बर्माले बताए ।
सुझाव सुनेपछि मन्त्री राणाले प्यूठानको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले प्यूठानको आवश्यकक्ता अनुसारको विकास हुनुपर्ने बताउँदै विकासका लागि कसैलाई काखापाखा र कसैलाई पाखा गर्न नहुने बताएका छन् । मन्त्री राणाले आफू शक्तिमा रहे पनि नरहे पनि प्यूठान विकास र प्यूठानका जनताको लागि सधैँ सहयोग गर्ने बताएका छन् । मन्त्री राणाले कांग्रेसमा आन्तरिक विवाद रहे पनि प्यूठानको विकासका लागि त्यसले कुनै असर नगर्ने बताए । उनले कांग्रेसका नेता तथा कार्यकर्तासँग माथि नेताहरूले जे गरे पनि गाउँमा कांग्रेसको संगठन बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।
मन्त्री राणासँगको छलफलमा प्यूठान नगरपालिकाका उपप्रमुख समेत रहेका कांग्रेस प्यूठानका उपसभापति देवेन्द्र बर्मा, उपसभापति ईश्वरसिंह विष्ट, कोषाध्यक्ष दीपक के.सी., सहसचिव तथा झिम्रुका गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेल, ऐरावती गाउँपालिकाका अध्यक्ष नवीलबिक्रम शाहका साथै वडाध्यक्षहरू एवम् कांग्रेसका वडा सभापति र पालिका सभापतिहरूको उपस्थिति रहेको थियो ।
मन्त्री राणाले गत वर्ष पनि लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउनुभन्दा अगाडि कांग्रेसका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरूसँग सुझाव लिएका थिए । सोही सुझावअनुसार राणाले प्यूठानमा उल्लेख्य विकासका योजना र बजेट राखेका थिए । यस पटक पनि बजेट आउनुभन्दा अगाडि मन्त्री राणाले रायसुझाव लिएका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया