जनताले बहुमत दिएका छन्, तर्साउने, थर्काउने नगर्नुस्, विधिअनुसार राज्य चलाउनुस् : कांग्रेस नेता खतिवडा
ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जनताले झण्डै दुईतिहाइ बहुमत दिएको दललाई डर, धम्की, त्रास र प्रतिशोध नराखेर पाँच वर्ष सरकार चलाउन सुझाव दिएका छन् ।
बिहीबार ओखलढुङ्गामा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले राजनीतिक प्रतिशोध नराखेर संविधान र कानून सम्मत सरकार चलाउन आग्रह गरे । उनले भने, ‘यो सरकार पाँच वर्षका लागि जनताबाट निर्वाचित भएर आएको छ । राम्रो काम गर्नुस् । हतार नगर्नुस् । तर्साउने, थर्काउने गर्नु हुँदैन । कानून सम्मत, विधि सम्मत, कानूनी राज्यका रुपमा काम गर्नुभयो भने राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सबैको समर्थन रहन्छ ।’
‘यसमा पनि इगो लिने, प्रतिशोध लिने, आफ्ना मान्छे पुरानालाई पार्टीको ट्याग लगाएर हटाइदिने, नयाँलाई विभिन्न बहानामा ल्याउने प्रवृत्ति भयो भने उही पुरानै बोतलमा नयाँ रक्सी हाले जस्तो हुन्छ । केही हुँदैन,’ नेता खतिवडाले भने ।
नेता खतिवडाले कांग्रेस पार्टीले मात्रै दलितहरूलाई अवसर दिएको बताएका छन् । कांग्रेसको स्थापनाकालमै धनमानसिंह परियारलाई महामन्त्री बनाएर दलित समुदायप्रति आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको खतिवडाले बताए ।
‘पार्टीमा दलितहरूबीच प्रतिस्पर्धा गराउने गरेका छौँ । प्रत्येक वडामा वडा सदस्य दलितलाई राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘तपाईहरू वडाध्यक्ष माग्नुभएको छ । हामीले धनगढीमा मेयर पनि दलितलाई बनाएका छौं ।’
‘जात र धर्मले कसैलाई अन्याय गर्नु हुँदैन भनेर हामीले निर्माण गरेको र त्यो संविधानमा सहि गरेको जनप्रतिनिधि हुँ,’ खतिवडाले भने, ‘त्यही जनप्रतिनिधिलाई आज बोलाउनुभयो । धन्यवाद दिन चाहन्छु ।’
उनले भने, ‘समावेशी संविधान बनाएको छ । समानुपातिक संविधान बनाएको छ । हिजोका दिनमा एउटा जातको मात्रै प्रतिनिधित्व थियो भने सबै जात जनसंख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था यो संविधानले हामीले निर्माण गरेका छौँ ।’
‘नेपाली कांग्रेसको पहिलो महामन्त्री धनमानसिंह परियारलाई बनायो । त्यो सौभाग्य अरु पार्टीमा छैन । कांग्रेसले सहमहामन्त्री प्रत्येक जातबाट दलित, जनजाति, मधेश, महिलाबाट अलग छ,’ उनले भने ।
‘सबैलाई प्रतिनिधित्व गराउने काम कसैले गरेको छभने नेपाली कांग्रेसले गरेको छ । मानबहादुर विश्वकर्मालाई उपराष्ट्रपतिमा उठाउने नेपाली कांग्रेस हो,’ कांग्रेस नेता खतिवडाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया