भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल बनायो : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै थापाले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल बनाएको बताए ।

सांसद थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिले विश्वका अन्य राष्ट्रहरूसँगको नेपालको कूटनीतिमा समेत गम्भीर असर पार्ने बताए । नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धसँग जोडिएका विषयमा सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्यमा आधारित, स्पष्ट र जिम्मेवार हुनुपर्ने उनले बताए ।

प्रधानमन्त्री शाहसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद् र जनतासमक्ष तत्काल सार्वजनिक गर्न कांग्रेस सांसद थापाले आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले त्यसो नभए राष्ट्रसमक्ष क्षमायाचना गर्नुपर्ने थापाले बताए । राष्ट्रिय हितसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि नरहेको उनले बताए ।

कांग्रेस सांसद थापाले भने, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रियहित र छिमेकी राष्ट्रसँगको संवेदनशील विषयसँग जोडिएको अभिव्यक्ति अत्यन्तै जिम्मेवार, स्पष्ट र यथार्थमा आधारित हुनुपर्छ । यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद् र नेपाली जनतासमक्ष प्रस्तुत गर्नुपर्छ । यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रसँग क्षमायाचना गर्नुपर्छ ।’

‘राष्ट्रियहितसँग जोडिएको विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई पनि छैन,’ उनले भने, ‘त्यसभन्दा पनि चिन्ताको विषय के हो भने नेपाल भारतबीचको द्विपक्षीय प्रकृतिबीचको सीमा र भूराजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारण जोड्ने प्रयास भएको देखिन्छ, नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रियहितसँग सम्बन्धित विषयहरू नेपाल र भारतबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्छ ।’

‘यस्तो संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउनु नेपालको हितमा छैन,’ कांग्रेस सांसद थापाले भने ।

प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादका विषयमा इङ्गल्यान्ड (यूके)सँग पनि छलफल भइरहेको अभिव्यक्ति दिएका थिए । सांसद थापाले नेपाल–भारत सीमा तथा भू–राजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारणा जोड्ने प्रयास चिन्ताजनक भएको बताएका छन् ।

नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू नेपाल र भारतबीचको द्विपक्षीय संवाद तथा स्थापित कूटनीतिक संयन्त्रमार्फत नै समाधान हुनुपर्ने थापाले बताए ।

यस्ता संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउँदा नेपाल–भारत सम्बन्धमा अविश्वास र तनाव उत्पन्न हुन सक्ने र कूटनीतिक टकराबबाट नेपाललाई कुनै लाभ नहुने सांसद थापाले बताए ।

सांसद थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणले झन् धेरै प्रश्नहरू खडा गरेको बताए ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भनाइ सुस्ता क्षेत्रको क्रस होल्डिङ तथा सीमा सम्बन्धी जटिल अवस्थासँग सम्बन्धित रहेको स्पष्टीकरण दिएको थियो ।

सांसद थापाले क्रस बोर्डर अकुपेसन वा क्रस होल्डिङलाई एउटा राष्ट्रले अर्को राष्ट्रको भूमि अतिक्रमण गरेको भन्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री शाहको गैरजिम्मेवार अभिव्यक्तिका कारण संसद् अवरोध भइरहेको उनले बताए । उनले संसद् सुचारु गराउन जिम्मेवार भूमिका खेल्न प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन् ।

Published : Wednesday, 2026 June 3, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया