वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने बर्दियाको मधुवन नगरपालिका–७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने मकवानपुरको बकैया गाउँपालिका–२ घर भएका ३८ वर्षीय तीर्थमान भोलन, काठमाडौंको तारकेश्वर नगरपालिका–९ बस्ने नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने गोरखाको पालुङटार नगरपालिका–६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ बस्ने नुवाकोटको विदुर नगरपालिका–१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका–१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दियाको बढैयाताल गाउँपालिका–९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, काठमाडौं महानगरपालिका–३ बस्ने लमजुङको दुधपोखरी गाउँपालिका–५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र काठमाडौं महानगरपालिका–१० बस्ने पाल्पाको पूर्वखोला गाउँपालिका–३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपियाँ, तीर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपियाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपियाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ, उज्वलले क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपियाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपियाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपियाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले राजेशलाई काठमाडौं महानगरपालिका–६, तीर्थमान र गोवर्धनलाई काठमाडौं महानगरपालिका–६ बौद्ध, उज्वललाई ललितपुरको महालक्ष्मी नगरपालिका–४ र प्रकाशलाई बाँकेको नेपालगंज उपमहानगरपालिका–१ सोमबार तथा रोशनलाई काठमाडौं महानगरपालिका–१०, उपेन्द्रलाई काठमाडौं महानगरपालिका–१२, ज्योतीलाई काठमाडौं महानगरपालिका–३ र राजिवलाई काठमाडौं महानगरपालिका–२८ बाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउमध्ये राजेश, तीर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2026 June 3, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया